काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जान इच्छुक नरहेको उनीनिकट नेताहरूले बताएका छन्। निवर्तमान सभापति शेरबहादुर देउवाको जोडबलका कारण मात्र खड्का समूह अदालत गएको उनीहरूको दाबी छ।
एक नेताका अनुसार खड्काले सुरुदेखि नै अदालत नजाने पक्षमा जोडदार अडान राखेका थिए। “पूर्णबहादुर दाइले स्पष्ट रूपमा अदालत नजाऔँ भनेर धेरै प्रयास गर्नुभयो, तर देउवा र उहाँनिकट केही नेताहरूले अदालत जानैपर्ने अड्डी लिनुभयो,” ती नेताले भने।
खड्कासहित रमेश लेखक, श्यामकुमार घिमिरेलगायतका नेताहरू पनि अदालत जानु उचित नहुने पक्षमा थिए। खड्काले विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिलाई विस्तार गरेर सहमतिमा जान सकिने धारणा राखेका थिए। कम्युनिष्ट पार्टीहरूको केन्द्रीय समिति पनि ठूलो छ, त्यसैले कांग्रेसमा पनि विस्तार गरेर मिलाएर जान सकिन्छ भन्ने सुझाव आएको थियो, अर्का एक नेताले बताए।
तर आफ्नो चाहनाविपरीत विशेष महाधिवेशनबाट आएको कार्यसमितिविरुद्ध अदालतमा मुद्दा परेपछि खड्काले नैतिक कारण देखाउँदै यो निर्वाचनमा आफू उम्मेदवार बन्न नमिल्ने धारणा आफ्नो समूहमा राखेका छन्। अदालतमा शेरबहादुर देउवा र पूर्णबहादुर खड्काको नाममा वारेसमार्फत रिट दायर गरिएको थियो।
खड्काले आफू उम्मेदवार नबन्ने भए पनि पार्टीभित्र एकता कायम गर्दै चुनाव लड्न र नवनिर्वाचित सभापति गगन थापा नेतृत्वको कार्यसमितिसँग संवाद गर्न आफ्ना निकट नेताहरूलाई आग्रह गरेका छन्। “म कार्यवाहक सभापतिको जिम्मेवारीमा रहँदा मिलाएर लैजानुपर्ने बेला मुद्दामामिलामा गयौं, त्यसैले नैतिक रूपमा म यो चुनाव लड्न मिल्दैन,” उनले भनेको ती नेताहरूले बताएका छन्।
खड्काले अदालत जान नहुने बताए पनि देउवाले अन्तरिम आदेश लिनैपर्ने अडान राखेको उनीनिकट नेताहरूको भनाइ छ। बेखुस हुँदाहुँदै पनि पूर्ण दाइ अदालत जान बाध्य हुनुभयो, ती नेताले बताए।
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट आएको कार्यसमितिलाई मान्यता दिएको विरोधमा देउवा पक्ष सर्वोच्च अदालत गएको हो। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ताको कार्यक्रम तय भएको छ।
यसैबीच कांग्रेसले संसदीय बोर्ड बैठक गरी उम्मेदवार टुंग्याउने तयारी गरेको छ। देउवानिकट केही नेताहरूलाई टिकट दिने तयारी रहे पनि देउवाको आफ्नै उम्मेदवारीको सम्भावना भने न्यून रहेको नेताहरूले बताएका छन्।
प्रकाशित मिति: ५ माघ २०८२, सोमबार













प्रतिक्रिया