काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले अब मधेसका जनताले अधिकार माग्न काठमाडौं जान नपर्ने बताएका छन्।
सोमबार जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै शाहले अब काठमाडौं घुमफिर तथा पशुपति र स्वयम्भूको दर्शनका लागि मात्र जानुपर्ने अवस्था रहने र अधिकार माग्न राजधानी धाउनुपर्ने परिस्थिति अन्त्य हुने दाबी गरे। “काठमाडौं घुम्न जानुहोस्, पशुपति र स्वयम्भूको दर्शन गर्न जानुहोस्। अब अधिकार माग्न जानु पर्दैन। त्यो अधिकार अब यही प्रदेशमै उपलब्ध हुनेछ,” उनले भने।
शाहले मधेसको छोरा अब प्रधानमन्त्री बन्ने दाबी गर्दै त्यसका लागि सबैले घण्टी चिन्हमा मतदान गर्नुपर्ने बताए। “मधेसको छोरो अब प्रधानमन्त्री बन्छ। सबैले घण्टीमा भोट हाल्नुस्। सही समय र सही सरकार आउँछ,” उनले उल्लेख गरे।
कार्यक्रममा उनले मधेसका उखु किसान माइतीघरमा आन्दोलन गर्न आउँदा आफू काठमाडौं महानगरपालिकाको मेयर मात्र भएकाले चाहेजस्तो सहयोग गर्न नसकेको स्वीकार गरे। तर अब केन्द्रीय राजनीतिमा आएकाले किसानका मागहरू सम्बोधन गर्न प्रतिबद्ध रहेको बताए।
“मधेसका उखु किसान माइतीघर आउँदा मैले केही गर्न सकिनँ, किनकि म मेयर मात्र थिएँ। तर अब म तपाईंहरूको साथमा छु, किनकि म अब केन्द्रीय राजनीतिमा आएको छु, उनले भने।
प्रकाशित मिति: ५ माघ २०८२, सोमबार













प्रतिक्रिया