डाभोस, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व आर्थिक मञ्च (डब्ल्यूईएफ) को बैठकमा कडा अभिव्यक्ति दिँदै ग्रिनल्याण्डलाई अमेरिकाको नियन्त्रणमा ल्याउने विषयमा तत्काल वार्ता सुरु गर्नुपर्ने बताएका छन्। छ वर्षपछि पहिलोपटक डाभोस मञ्चमा उपस्थित ट्रम्पले ग्रिनल्याण्ड राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षाका दृष्टिले अमेरिकाका लागि अत्यन्त महत्वपूर्ण भएको दाबी गरे।

स्विट्जरल्यान्डको स्की रिसोर्ट डाभोसमा एक घण्टाभन्दा बढी समय विश्वका राजनीतिक तथा व्यावसायिक नेताहरूलाई सम्बोधन गर्दै ट्रम्पले ग्रिनल्याण्ड जस्तो विशाल भू–भाग र बरफले ढाकिएको क्षेत्रको सुरक्षा अमेरिका बाहेक अरू कसैले गर्न नसक्ने बताए। यही कारण उक्त क्षेत्र अमेरिकाको नियन्त्रणमा ल्याउने विषयमा आफूले पुनः वार्ताको प्रस्ताव अघि सारेको उनको भनाइ थियो।

advertisement

ग्रिनल्याण्ड डेनमार्कको अधीनमा रहेको उल्लेख गर्दै ट्रम्पले यस विषयमा ‘विकल्प’ खुला रहेको संकेत गरे। “तपाईं सहमत हुनुहुन्छ भने हामी कृतज्ञ हुनेछौँ, असहमत हुनुभयो भने पनि हामी सम्झनेछौँ,” भन्दै उनले बलियो अमेरिका भनेको बलियो नेटो भएको तर्क गरे।

यस क्रममा उनले डेनमार्कविरुद्ध सैन्य कारबाहीको चेतावनी दिएको भन्ने आरोप अस्वीकार गरे। ट्रम्पले आफूले बल प्रयोग गर्न नचाहेको स्पष्ट पार्दै भने, “हामी त्यो अवस्थामा पुग्ने छैनौँ। म अत्यधिक शक्ति प्रयोग गर्ने निर्णय गर्दिनँ, न त गर्न चाहन्छु।”

डाभोसको सम्बोधनमा ट्रम्पले युरोपेली नीति, अर्थतन्त्र र कर प्रणालीको आलोचना गर्दै युरोप ‘सही दिशामा नबढिरहेको’ टिप्पणी गरे। खनिज स्रोतले सम्पन्न ग्रिनल्याण्डलाई लिएर गरिएको उनको दाबीले डाभोस बैठकका अन्य एजेन्डालाई समेत ओझेलमा पारेको विश्लेषकहरूको भनाइ छ।

विद्युतीय समस्याका कारण एयर फोर्स वानलाई वासिङ्टन फर्काएर अर्को विमान प्रयोग गर्नुपरेपछि ट्रम्प कार्यक्रम स्थलमा निर्धारित समयभन्दा झन्डै दुई घण्टा ढिलो पुगेका थिए।

यसअघि युरोप र क्यानडाले अर्ध–स्वायत्त ग्रिनल्याण्डमाथि ट्रम्पको दाबीलाई अमेरिकी नेतृत्वको विश्व व्यवस्थाका लागि खतरा भन्दै चिन्ता व्यक्त गरेका थिए। क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले पनि अमेरिकी प्रणाली कमजोर बन्न सक्ने चेतावनी दिएका थिए।

नेटोका महासचिव मार्क रुटले डाभोसमा प्रतिक्रिया दिँदै ग्रिनल्याण्ड सम्बन्धी विवादले गठबन्धनको अस्तित्वमै संकट उत्पन्न गरेको बताए। “तनाव छ भन्नेमा कुनै शंका छैन,” उनले भने।

ट्रम्पले आफ्नो भाषणमा नेटोप्रति असन्तुष्टि जनाउँदै अमेरिकामाथि अन्यायपूर्ण व्यवहार भएको आरोप लगाए। यता, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँको कार्यालयले ग्रिनल्याण्डमा नेटो अभ्यासका लागि पहल गर्न आह्वान गरेको छ र त्यसमा योगदान दिन तयार रहेको जनाएको छ।

म्याक्रोँले यसअघि अमेरिकाले युरोपलाई दबाबमा राख्न खोजेको भन्दै चेतावनी दिएका थिए भने ग्रिनल्याण्डसँग सम्बन्धित कर धम्कीलाई ‘अस्वीकार्य’ भनेका थिए। ट्रम्पले डेनमार्कलाई समर्थन गर्ने आठ युरोपेली मुलुकमाथि २५ प्रतिशतसम्म कर लगाउने चेतावनी दिएपछि युरोपले प्रतिकारको संकेत दिएको छ।

यसैबीच, ग्रिनल्याण्डका प्रधानमन्त्रीले ५७ हजार जनसङ्ख्यालाई सुरक्षा चुनौती सामना गर्न तयार रहनुपर्ने अवस्था आएको बताएका छन्।

अर्कोतर्फ, ट्रम्पले बिहीबार आफ्नो तथाकथित ‘बोर्ड अफ पिस’ को पहिलो चार्टर औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेका छन्। अन्तर्राष्ट्रिय द्वन्द्व समाधानका लागि गठन गरिने उक्त संयन्त्रमा स्थायी सदस्य बन्न एक अर्ब अमेरिकी डलर शुल्क लाग्ने बताइएको छ।

प्रकाशित मिति: ८ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com