काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै संगठित सदस्यलाई पत्र लेख्दै आगामी निर्वाचनमा एमालेका उम्मेदवारहरूलाई विजयी गराउन उच्च मनोबलका साथ सक्रिय हुन आग्रह गरेका छन्।
अध्यक्ष ओलीले शनिबार साँझ पार्टीका करिब ६ लाख ६३ हजार सदस्यलाई पत्र पठाउँदै निर्वाचनले देश विनाशतर्फ जाने कि निर्माणको मार्गमा अघि बढ्ने भन्ने निर्णय गर्ने उल्लेख गरेका छन्। पत्रमा उनले देश निर्माणका लागि एमालेले बहुमत प्राप्त गर्नैपर्ने आवश्यकता औंल्याएका छन्।
‘देश निर्माणका लागि हाम्रो पार्टीलाई बहुमत आवश्यक छ,’ पत्रमा ओलीले लेखेका छन्, ‘त्यसैले बहुमत हासिल गर्न अपरिहार्य पार्टीका उम्मेदवारहरूको विजय सुनिश्चित गर्न कमरेडहरूको उच्च मनोबल र सक्रिय सहयोगको अपेक्षा गर्दछु।’
पार्टीको प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार अध्यक्ष ओलीले सबै पार्टी सदस्यलाई निर्वाचन प्रचारमा सक्रिय रूपमा सहभागी हुन उत्साहित गर्न व्यक्तिगत पत्र लेखेका हुन्।
‘अध्यक्षज्यूले ठूलो संख्यामा रहेका संगठित सदस्यहरूलाई व्यक्तिगत पत्रमार्फत हौसला दिनुभएको छ,’ शाहीले भने, ‘यसले पार्टी सदस्यहरूले नेतृत्वसँग प्रत्यक्ष सम्पर्कको अनुभूति गर्ने विश्वास गरिएको छ।’
देशमा विध्वंस र आगजनी गर्ने शक्तिहरूलाई चुनावी मैदानबाटै पराजित गर्दै निर्माणको नेतृत्व एमालेले गर्नुपर्छ भन्ने सन्देश पार्टी सदस्यहरूमार्फत आम मतदातासम्म पुर्याउने उद्देश्यले पनि उक्त पत्राचार गरिएको शाहीले बताएका छन्।
प्रकाशित मिति: ११ माघ २०८२, आइतबार













प्रतिक्रिया