काठमाडाैं । नेपाली कांग्रेसका तर्फबाट कैलाली निर्वाचन क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गोरखबहादुर विष्ट ‘आनन्द’ले आफ्नो निर्वाचन क्षेत्रमा पार्टी एकतावद्ध र सुदृढ रहेको दाबी गरेका छन्।
शनिबार धनगढीमा आयोजित पत्रकारसँगको अन्तरक्रियामा उम्मेदवार विष्टले कैलाली–४ मा लामो समयदेखि कांग्रेसलाई योगदान दिएका अनुभवी र सक्षम नेताहरू रहेको उल्लेख गर्दै सबैप्रति आफूले उच्च सम्मान राख्ने बताए। पार्टीले यसपटक आफूलाई उम्मेदवारको जिम्मेवारी दिएको भन्दै उनले टिकट पाएपछि क्षेत्रका सबै अग्रज नेताहरूसँग संवाद र सहकार्य गरेको जानकारी दिए।
“टिकट पाएपछि मैले क्षेत्रका सबै दिग्गज नेताहरूसँग सम्पर्क र छलफल गरेँ। उहाँहरूले मलाई निरन्तर साथ, सहयोग र ऊर्जा दिनु भएको छ। अब पार्टीभित्र कुनै मनमुटाव छैन। सबै एकतावद्ध भएर चुनावी अभियानमा लागेका छौँ,” विष्टले भने।
उम्मेदवार विष्टले आफू स्पष्ट योजना र एजेण्डासहित निर्वाचनमा होमिएको बताउँदै आलोचना र आरोप–प्रत्यारोपभन्दा विकास र सकारात्मक सोचका आधारमा जनतासमक्ष जाने रणनीति अपनाएको बताए। चुनाव जितेको भोलिपल्टदेखि नै प्रतिबद्धता कार्यान्वयनमा सक्रिय भूमिका खेल्ने उनले प्रतिवद्धता जनाए।
“चुनाव लोकतान्त्रिक प्रक्रिया हो। आलोचना मात्रै गर्ने संस्कार त्यागेर आफ्ना योजना र दृष्टिकोण लिएर जनताको घरदैलोमा जानुपर्छ,” उनले भने, “जनताले देखाउनुभएको प्रेम र विश्वासले मलाई अझ गम्भीर र जिम्मेवार बनाएको छ।”
विष्टले आफू पवित्र भावना र निष्कलंक मन लिएर जनताको सेवामा समर्पित हुन चुनावी प्रतिस्पर्धामा उत्रिएको बताए। अन्य उम्मेदवारप्रति गाली–गलौज वा आरोप लगाउने राजनीति आफूले नगर्ने स्पष्ट पार्दै उनले विचार र एजेण्डामै प्रतिस्पर्धा हुनुपर्ने धारणा राखे।
हाल उम्मेदवार विष्टले निर्वाचन क्षेत्रभित्रका सर्वसाधारण जनता, समाजसेवी, पार्टीका नेता–कार्यकर्ता तथा विभिन्न राजनीतिक व्यक्तित्वहरूसँग भेटघाटलाई तीव्र बनाएका छन्।
प्रकाशित मिति: ११ माघ २०८२, आइतबार












प्रतिक्रिया