काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सहिदहरूले देखाएको मार्गमा हिँड्दै उनका सपना पूरा गर्ने प्रण गर्नुपर्ने बताएका छन्।

सहिद दिवसका अवसरमा एक सन्देश जारी गर्दै सभापति थापाले सहिदहरूको अदम्य साहस, सङ्कल्प र आदर्शप्रति उच्च सम्मान प्रकट गरेका छन्। सहिदहरूले आफ्नो जीवन देश र जनताका लागि समर्पण गरेकै कारण आज नेपाली जनता स्वतन्त्रताको युगमा श्वास फेर्न पाएको उनको भनाइ छ।

advertisement

सभापति थापाले नेपाली जनताको अधिकार र स्वतन्त्रताका लागि २००७ सालको जनक्रान्ति अघिदेखि २०८२ सालको ‘जेन–जी’ विद्रोहसम्म इतिहासका विभिन्न कालखण्डमा भएका आन्दोलन र सङ्घर्षमा अमूल्य जीवन आहुति दिने सम्पूर्ण वीर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाललाई शान्त, समुन्नत र समृद्ध राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिने उल्लेख गर्दै उनले सहिदहरूले देखाएको त्याग, बलिदान र आदर्शको मार्ग आत्मसात् गर्दै समुन्नतिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु सबैको साझा दायित्व भएको बताएका छन्।

सभापति थापाले नेपाली कांग्रेसको नेतृत्वमा संविधानसभाबाट निर्माण भएको ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान’मा लिपिबद्ध जनअधिकारको प्रभावकारी कार्यान्वयन गर्नुका साथै समयसापेक्ष परिमार्जन आवश्यक रहेको उल्लेख गरेका छन्।

साथै, सम्पूर्ण नेपालीको सामूहिक प्रयत्नबाट ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को राष्ट्रिय लक्ष्य हासिल गर्न सहिद दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति: १८ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com