काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई अब सत्ताको लोभ नभएको बताएका छन्। आइतबार एक भिडिओ सन्देश जारी गर्दै उनले सन्तान, जीनवसंगिनी र सहयोद्धाहरु गुमाएपछि आफूलाई अब सत्ताको लोभ नभएको बताएका छन्।
उनले भनेका छन्,‘सन्तान, जीवनसंगिनी र सहयोद्धाहरु गुमाएपछि मलाई अब सत्ताको लोभ छैन। मेरो बाँकी जीवन शहीदका सपना र यो नयाँ पुस्ताको भविष्यका लागि मात्र समर्पित छ।’
दाहालले आफ्नो जीवनमा एउटा मान्छेले जे-जति गुमाउन सक्छ त्यो सबै गुमाएको पनि स्मरण गराएका छन्। आफूले गरेको संघर्ष व्यक्तिगत नभएर हजारौं शहीदहरुको सपना पूरा गर्ने यात्रा भएकोले परिवर्तन गराएरै छोड्ने पनि दाहालको दाबी छ।
दाहालले आफू हार मान्न तयार नरहेको दोहोर्याए। उनले भने,‘म हार मान्न तयार छैन। काम सकिएको छैन। नयाँ पुस्तालाई स्वागत गर्छौं। हरेक चम्किलो चिज हिरा हुँदैन, सामाजिक सञ्जालका भ्रमले बहकाउन सक्छ, म स्वतन्त्र चिन्तनका लागि अपिल गर्न आएको छु, भोट माग्न होइन।’
युवाहरूले माग गरेको भ्रष्टाचारको अन्त्य, पारदर्शीता र बलियो सरकार युद्धका दिनदेखि नै आफूले उठाउँदै आएको उनले बताएका छन्। राजनीतिक स्थिरता र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्नेमा उनको जोड छ।
‘यो संसदीय खेल र कुर्सीको तानातानले देशलाई कति पछाडि धकेल्यो, त्यो हामी सबैले देखेका छौँ, भोगेका छौँ। त्यसैले म भन्छु, मेरो माग र तपाईँहरूको माग एउटै हो। म तपाईँहरूकै पुस्ताको सोच बोकेर हिँडेको यात्री हुँ ।’
प्रकाशित मिति: १८ माघ २०८२, आइतबार












प्रतिक्रिया