एजेन्सी। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२५ मा रुसको सैन्य–प्राविधिक सहयोग प्रणालीले उल्लेखनीय सफलता हासिल गरेको बताएका छन्। सैन्य–प्राविधिक सहयोग आयोगको बैठकलाई सम्बोधन गर्दै उनले गत वर्ष रुसले विश्वका ३० भन्दा बढी मुलुकमा हतियार तथा सैन्य सामग्री निर्यात गरी १५ अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी गरेको जानकारी दिएका हुन्।
क्रेमलिन प्रेस सेवाका अनुसार राष्ट्रपति पुटिनले अन्तर्राष्ट्रिय प्रतिबन्ध र राजनीतिक दबाबका बाबजुद रुसी रक्षा उद्योगले उच्च लचकता, उत्पादन क्षमता र प्रभावकारिता प्रदर्शन गर्न सफल भएको दाबी गरे। हतियार बिक्रीबाट प्राप्त आम्दानी रक्षा उद्योगको आधुनिकीकरण, उत्पादन विस्तार तथा नयाँ प्रविधि र वैज्ञानिक अनुसन्धानमा खर्च गरिने उनले स्पष्ट पारे।
पुटिनका अनुसार रक्षा क्षेत्रमा हासिल गरिएको यो प्रगतिले रुसको समग्र अर्थतन्त्र सुदृढ हुनुका साथै राष्ट्रिय सुरक्षा र सैन्य क्षमतालाई थप बलियो बनाउनेछ। उनले सैन्य–औद्योगिक क्षेत्रमा कार्यरत संस्थाहरूको समन्वय, नवप्रवर्तन र दीर्घकालीन योजनाका कारण निर्यात बजार कायम राख्न सकिएको बताए।
सन् २०२६ का प्राथमिकताबारे उल्लेख गर्दै राष्ट्रपति पुटिनले आगामी वर्षमा रुसको सैन्य निर्यात अझै वृद्धि हुने अपेक्षा व्यक्त गरे। उनले स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस), सामूहिक सुरक्षा सन्धि संगठन (सीएसटीओ) का सदस्य मुलुकहरू तथा अफ्रिकी राष्ट्रहरूलाई सैन्य–प्राविधिक सहयोगको मुख्य प्राथमिकतामा राखिने बताए।
विद्यमान वित्तीय संयन्त्र र सहकार्यका उपायहरूको प्रभावकारी उपयोग गर्दै निर्यात विस्तार गरिनेमा जोड दिँदै पुटिनले मित्र राष्ट्रहरूसँग रक्षा साझेदारी अझ बलियो बनाउने नीति अवलम्बन गरिएको बताए। अन्तर्राष्ट्रिय दबाबका बीच पनि रुसले आफ्नो सैन्य बजार विस्तार गर्ने रणनीति कायम राखेको संकेत उनले दिएका छन्।
प्रकाशित मिति: १९ माघ २०८२, सोमबार













प्रतिक्रिया