काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आउँदो चुनावपछिको संसद् घण्टीमय हुने बताएका छन् ।
चुनाव प्रचारप्रसारको क्रममा सोमबार रूपन्देही पुगेका लामिछानेले रास्वपाले क्षमतावान् उम्मेदवार उठाएकाले यस पटकको संसद् घण्टीमय हुने दाबी गरेका हुन् ।
उनले भने, ‘रास्वपाले १०१ उम्मेदवारहरूलाई लिएर आएको छ । क्षमतावान साथीहरूले टिकट पाउनुभएको छ। देशले नचिने पनि हाम्रा उम्मेदावरले देशालाई चिनेका छन्। अघिल्लाेपटक २१ जना सांसदले संसद हल्लाएका हुन्। यसपटक नेपालको संसदमा जता हेर्यो त्यतै घण्टीमय हुनेछ। र त्यस्को सुरुवात डा. लेखजंग थापाबाट हुनेछ ।’ थापा रास्वपाका रूपन्देही ३ का प्रत्यक्ष उम्मेदवार हुन्।
लामिछानेले आफू रूपन्देहीमा चुनावी भाषण गर्न र भाेट माग्न नआएकाे बताए । तर उनले भाषणका क्रममा भाेट मागिरहे । भने, ‘यो ठाउँमा मैले हिसाब मिलाउन छ, मेरा कैयौँ पसिनाका धारा यहीँ बगेका छन् । मेरो हिसाबको मलाई चिन्ता छैन, तर देशको हिसाब मिलाउने हो । म आज चुनावी भाषणका लागि आएको होइन, भोट माग्न त भोलि आउँला, अहिले मन माग्न आएको हुँ ।’
प्रकाशित मिति: २६ माघ २०८२, सोमबार













प्रतिक्रिया