काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कसैप्रति गाली–गलौज नगरी एकताबद्ध भएर निर्वाचनमा सक्रिय हुन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
कांग्रेस चितवनले आज आयोजना गरेको कार्यक्रममा उनले आफ्नो धारणा स्पष्ट र सकारात्मक ढङ्गले प्रस्तुत गर्नुपर्ने भन्दै अरूलाई लाञ्छित नगर्न निर्देशन दिए।
उपसभापति शर्माले भने, “हामी कसैलाई गाली नगरौँ। आफ्ना एजेन्डा जनतासामु स्पष्ट रूपमा राखौँ र निर्वाचनमा एकढिक्का भएर पार्टीलाई विजयी गराऔँ। हाम्रो इतिहास, संस्कार र सभ्यतालाई ध्यानमा राख्दै चुनावमा लाग्नुपर्छ।” उनले पार्टीभित्र सम्पन्न विशेष महाधिवेशनले आन्तरिक मतभेद अन्त्य गरेको उल्लेख गर्दै गुटरहित मानसिकतासहित देश परिवर्तनको संकल्प लिएर निर्वाचनमा होमिएको सन्देश जनतामाझ पु¥याउन आग्रह गरे।
कांग्रेसले फागुन २१ लाई लक्षित गर्दै २१ दिने अभियान सञ्चालन गर्न लागेको जानकारी दिँदै शर्माले अभियानका क्रममा जिल्ला, प्रदेश र केन्द्रबाट खटिएका नेताबाहेक अन्य सबै नेता तथा कार्यकर्तालाई आफ्नै वडामा २१ दिन सक्रिय रूपमा खटिन निर्देशन दिए। “आफ्नो वडा छाडेर अर्काको वडामा जानु आवश्यक छैन,” उनले भने, “आफ्नै क्षेत्रमा पार्टी र देश परिवर्तनका लागि कांग्रेसले लिएको नीति घरघरमा पु¥याऔँ।”
कार्यक्रममा केन्द्रीय सदस्य जीतनारायण श्रेष्ठले कांग्रेसले देशभर करिब ७५ प्रतिशत युवा तथा नयाँ उम्मेदवारसहित निर्वाचनमा सहभागिता जनाएको उल्लेख गर्दै सबैलाई जित सुनिश्चित हुने गरी परिचालित हुन आग्रह गरे।
कांग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार राजेन्द्र बुर्लाकोटी, क्षेत्र नं २ की उम्मेदवार मीनाकुमारी खरेल र क्षेत्र नं ३ का उम्मेदवार टेकप्रसाद गुरुङले आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई विजयी गराउन सबै नेता तथा कार्यकर्ता एकजुट हुनुपर्नेमा जोड दिए।
उनीहरूले कांग्रेसले गरेका कामबारे जनतालाई जानकारी गराउँदै मतदाता जोड्ने र सबैलाई गोलबद्ध गर्ने अभियान सञ्चालन गर्न आवश्यक रहेको बताएका छन्। (रासस)
प्रकाशित मिति: २६ माघ २०८२, सोमबार













प्रतिक्रिया