काठमाडौं । लिचीबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्ताको निवेदनमाथि सर्वोच्च अदालतमा हुने सुनुवाइ स्थगित भएको छ। न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको मुद्दा गुप्ताका कानुन व्यवसायीले स्थगित गराएका हुन्।
पूर्वमन्त्री गुप्ताले विशेष अदालतको लिचीबारी जग्गा प्रकरणसम्बन्धी भ्रष्टाचार मुद्दामा आफूलाई थुनामा पठाउने आदेश बदर गर्न निवेदन दिएका थिए। यसअघि गुप्ताको निवेदनमा न्यायाधीश सपना प्रधान मल्ल र नृपध्वज निरौलाको संयुक्त इजलासले अन्य प्रतिवादीको ७३ नम्बरको निवेदन परेको वा नपरेको बुझ्न आदेश दिएको थियो।
पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। उनीमाथि आरोप छ कि तत्कालीन मन्त्री गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुख अधिकारीको सरुवा रोकिदिने र भूमि आयोगमा सदस्य बनाइदिने शर्तमा घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएका थिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्ता र पूर्वमन्त्री रन्जिता श्रेष्ठमाथि आपसी मिलेमतोमा पदको दुरुपयोग गर्दै कार्य सुविधा प्रदान गर्नका लागि २५ लाख रुपैयाँ घुस लिएको आरोप लगाएको थियो।
तर गुप्ताले अदालतमा बयान दिँदै आफूमाथि लागेको आरोप झुटो भएको र कसैसँग घुस नलिएको दाबी गरेका थिए। अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा उनलाई निर्दोष ठहर गर्न नसकिने ठहर गरेको छ।
प्रकाशित मिति: २७ माघ २०८२, मंगलबार













प्रतिक्रिया