काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकार तथा कार्यकारी अंगको नै भएको बताएकी छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले देशमा भ्रष्टाचार नियन्त्रणका लागि पर्याप्त संरचना, कानुनी तथा नीतिगत व्यवस्था रहे पनि अपेक्षाकृत रूपमा नियन्त्रण हुन नसकेको बताइन्।
भदौ २३ र २४ गते ‘जेनजी’ युवाहरूले भ्रष्टाचार निवारणको माग गर्दै सडक आन्दोलन गर्नुपरेको प्रसंग उल्लेख गर्दै उनले प्रश्न उठाइन्, “हामीकहाँ पर्याप्त संरचना र कानुनी व्यवस्था हुँदाहुँदै पनि किन भ्रष्टाचार अपेक्षाकृत नियन्त्रण हुन सकिरहेको छैन? किन भ्रष्टाचार निवारणकै माग राखी युवाहरू सडकमा उत्रिनुपर्यो
उनले भनिन्, “यी प्रश्नहरूमा विचार गर्दा हामी सबैले बुझ्नुपर्ने र मनन गर्नुपर्ने कुरा के हो भने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारको नै हो, कार्यकारी अंगको नै हो।
प्रधानमन्त्री कार्कीले प्रत्येक निकायका कार्यालय प्रमुखले आफ्नो संस्था तथा संरचनाभित्र हुने भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी स्वयं लिनुपर्ने धारणा व्यक्त गरिन्।
उनले भनिन्, “जबसम्म हामी भ्रष्टाचार नियन्त्रणका लागि कार्यकारी अंगभन्दा बेग्लै संरचनातिर मुख ताकेर बस्छौँ, तबसम्म आफूभित्र चाहेको सुधार गर्न सक्दैनौँ। प्रत्येक कार्यालयमा हुने भ्रष्टाचार र घुसखोरीका लागि सम्बन्धित कार्यालय प्रमुख नै जिम्मेवार हुन्छ।”
भ्रष्टाचार नियन्त्रणसम्बन्धी मान्यता, चेतना र जिम्मेवारीको बोध प्रत्येक राष्ट्रसेवक कर्मचारी, राजनीतिक नेतृत्व तथा सरोकारवालामा आवश्यक रहेको उनले जोड दिइन्।
प्रकाशित मिति: २८ माघ २०८२, बुधबार













प्रतिक्रिया