काठमाडौं। राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।
बैठकको शून्य समयमा बोल्दै सांसदहरूले फागुन २१ गते हुने निर्वाचनका सन्दर्भमा सम्भावित सुरक्षा चुनौतीप्रति सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याए।
सांसद कृष्णबहादुर रोकायाले सुरक्षाकर्मीमाथि भएका आक्रमणका घटनाले निर्वाचन सुरक्षा व्यवस्थापन र प्रहरीको मनोबलमा नकारात्मक असर पार्न सक्ने भन्दै चिन्ता व्यक्त गरे। सांसद पदमबहादुर परियार र विष्णुदेवी पुडासैनीले मतदाताले ढुक्क र शान्तिपूर्ण वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता गर्न सरकारसँग माग गरे। परियारले गैरआवासीय नेपाली संघ (एनआरएन)को निर्वाचनमा सरकारको भूमिकाबारे पनि प्रश्न उठाइन्।
यसैगरी, सांसद घनश्याम रिजालले निर्वाचन नजिकिँदै जाँदा बजारमा कृत्रिम अभाव र कालोबजारी बढेको उल्लेख गर्दै प्रभावकारी बजार अनुगमन गर्न सरकारलाई आग्रह गरे।
शून्य समयमा बोल्दै सांसदहरूले तामाकोसी बस दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारलाई आवश्यक राहत उपलब्ध गराउन र घाइतेहरूको उपचारका लागि आवश्यक सहयोग सुनिश्चित गर्न सभामुखमार्फत सरकारसँग माग राखे।
सांसद रेणु चन्द र श्रीकृष्णप्रसाद अधिकारीले बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि सरकार गम्भीर बन्नुपर्ने बताउँदै सुरक्षित सडक यात्राका लागि सबै सरोकारवाला निकायको सक्रियता आवश्यक रहेको धारणा राखे।
प्रकाशित मिति: २८ माघ २०८२, बुधबार













प्रतिक्रिया