काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले स्थगनमा परेका आयोजनाहरूको आवश्यकताका आधारमा बजेट फुकुवा गर्ने क्रम जारी रहेको बताएका छन्।

बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसद भुवनबहादुर सुनारले उठाएको प्रश्नको जवाफ दिँदै उनले कतिपय आयोजनाहरूको बजेट फुकुवा भई कार्यान्वयन चरणमा प्रवेश गरिसकेको जानकारी दिए।

advertisement

अर्थमन्त्री खनालका अनुसार वर्तमान सरकार गठन हुँदा आन्दोलनबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, मर्मत तथा सार्वजनिक सेवा पुनःसञ्चालनका लागि ठूलो आर्थिक स्रोत आवश्यक परेको थियो। साथै राष्ट्रिय सभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्न पनि उल्लेख्य बजेटको जोहो गर्नुपरेको उनले बताए।

चालु तथा प्राथमिकताप्राप्त आयोजनामा पर्याप्त विनियोजन हुन नसक्दा कतिपय आयोजनाको दायित्व सिर्जना भई भुक्तानी गर्न कठिनाइ भएको उल्लेख गर्दै उनले सोही कारणले केही योजनाको बजेट स्थगन गर्नुपरेको स्पष्ट पारे।

उनले तयारी नै नभएका, खरिद प्रक्रियामा प्रवेश नगरेका, साना तथा टुक्रे र तत्काल समष्टिगत अर्थतन्त्रमा उल्लेख्य योगदान नपुर्‍याउने आयोजनाहरूलाई मात्र स्थगन गरिएको बताए।

डिजाइन तथा स्टिमेट सम्पन्न भइसकेका, टेन्डर प्रक्रियामा गएका, क्रमागत प्रकृतिका वा उपभोक्ता समितिसँग सम्झौता भइसकेका आयोजनाहरूलाई सम्बन्धित मन्त्रालयमार्फत क्रमशः बजेट फुकुवा गर्ने व्यवस्था गरिएको उनले जानकारी दिए।

उनका अनुसार मन्त्रिपरिषद्को २०८२ असोज ५ गतेको निर्णयअनुसार अनुत्पादक खर्च कटौती गर्दै मितव्ययिता कायम गरी आवश्यक क्षेत्रमा बजेट व्यवस्थापन गर्ने नीति अपनाइएको हो।

सोही व्यवस्थाअनुसार हाल धेरै आयोजनाहरूको रकम फुकुवा भई कार्यान्वयन सुरू हुने क्रममा छन् भने केही आयोजना सुरु भइसकेका छन्, उनले भने।

प्रकाशित मिति: २८ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com