काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बिहीबार जिल्ला अदालत कास्की पुगेर तारेख बुझेका छन्।
अदालतमा विचाराधीन सहकारी ठगी, सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी मुद्दामा उनले तारेख बुझेका हुन्। जिल्ला अदालत कास्कीका सूचना अधिकारी रामबहादुर किसानका अनुसार लामिछानेले बिहीबार बिहान अदालत उपस्थित भई तारेख लिएका हुन्।
लामिछानेमाथि पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप छ। सहकारीमा सर्वसाधारणले जम्मा गरेको बचत रकम गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी गरी ग्यालेक्सी टेलिभिजन सञ्चालन गरिएको भन्दै पीडितहरूले उजुरी दिएका थिए।
सोही उजुरीका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले लामिछानेसहित ६३ जनाविरुद्ध १ अर्ब ५१ करोड रुपैयाँ ठगी गरेको आरोपमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दा हाल अदालतमा विचाराधीन छ।
सरकारी वकिलले अदालतमा मुद्दा दायर गरेपछि जिल्ला अदालत कास्कीले थुनछेक आदेश जारी गर्दै लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो। यसअघि कास्की प्रहरीले उनलाई ८४ दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो।
जिल्ला सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम अपचलनमा लामिछानेविरुद्ध ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो दाबी गरेको छ। त्यस्तै, सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो मागदाबी गरिएको छ।
तारेख बुझेर लामिछाने चुनावी प्रचारका क्रममा स्याङ्जा गएका छन्। रास्वपाका कार्यकर्ताका अनुसार उनी स्याङ्जाका विभिन्न स्थानमा ‘घण्टी अभिवादन’ कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ।
सहकारीका सञ्चालक तथा गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष जिबी राई भने हालसम्म फरार रहेका छन्।
प्रकाशित मिति: २९ माघ २०८२, बिहिबार













प्रतिक्रिया