काठमाडाैं । काठमाडौंमा रहेको निर्वाचन आयोग ले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतपत्र छपाइ तथा ढुवानी कार्यलाई तीव्र बनाएको जनाएको छ। आयोगका अनुसार कर्णाली प्रदेशका १० जिल्लामा मतपत्र पठाउने प्रक्रिया सुरु भइसकेको छ भने अन्य प्रदेशहरूमा पनि छपाइ र प्याकिङ व्यापक रूपमा जारी छ।
आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार कर्णालीका सल्यान, रुकुमपश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेत जिल्लामा मतपत्र ढुवानी भइरहेको छ। हालसम्म देशभरका ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न भइसकेको छ। कुल एक करोड ५७ लाख ७८ हजार मतपत्र तयार भइसकेका छन्।
पहिलो चरणमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाइएको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ पनि सुरु भइसकेको छ। माघ १३ गतेसम्म दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ तथा प्याकिङ गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ।
हाल दैनिक करिब एक हजार बाकस मतपत्र प्याकिङ भइरहेको छ भने दिनहुँ १३–१५ लाख मतपत्र छपाइ भइरहेको छ। प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ दुई करोड ३२ हजार मतपत्र छाप्ने प्रक्रिया माघ १६ गते बिहानदेखि सुरु भएको छ।
आयोगले मतपत्र छपाइ, प्याकिङ र ढुवानी कार्यलाई उच्च प्राथमिकतामा राख्दै निर्वाचन तयारीमा कुनै पनि ढिलाइ नहोस् भन्ने लक्ष्यसहित प्रक्रिया अघि बढाएको जनाएको छ।
प्रकाशित मिति: १ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया