काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाह लाई स्वागत गर्न राजावादी समूहहरू शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने भएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा राजावादी अभियानमा संलग्न विभिन्न व्यक्तिहरू मध्याह्न विमानस्थल पुग्ने तयारीमा छन्। तर, जिल्ला प्रशासन कार्यालय काठमाडौं ले विमानस्थल आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले निषेधाज्ञाका बाबजुद पूर्वराजालाई स्वागत गर्न जाने बताएका छन्। उनका अनुसार पार्टीको ब्यानर वा झन्डा प्रयोग नगरी राष्ट्रिय झन्डासहित स्वागत गरिनेछ। कार्यक्रममा नेता कमल थापा, महामन्त्री धवलशम्शेर राणा लगायत सहभागी हुने जनाइएको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन ले पनि निषेधाज्ञाप्रति असहमति जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रशासनको निर्णयमाथि प्रश्न उठाएका छन्। त्यसैगरी, नेता कमल थापाले विमानस्थल बाहिर शान्तिपूर्ण रूपमा उपस्थित भएर स्वागत गर्न पाउने अधिकार रहेको उल्लेख गरेका छन्।
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईं ले पनि सामाजिक सञ्जालमार्फत उपस्थितिका लागि आह्वान गरेका छन्।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले विज्ञप्ति जारी गर्दै यस्ता कार्यक्रमका लागि प्रशासनसँग पूर्वस्वीकृति नलिइएको बताएका छन्। निर्वाचन आचारसंहिता लागू भइसकेको र देश निर्वाचन प्रक्रियामा गइसकेको अवस्थालाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरिएको प्रशासनको भनाइ छ।
प्रशासनले विमानस्थल प्रवेशद्वार गोल्डेन गेटदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल, पार्किङ क्षेत्र लगायत विमानस्थल परिसरभित्र पाँच जनाभन्दा बढी भेला भई अनशन, धर्ना, जुलुस, प्रदर्शन वा सभा गर्न निषेध गरेको जनाएको छ।
प्रकाशित मिति: १ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया