काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाह करिब तीन महिनाको झापा बसाइ सकेर शुक्रबार काठमाडौं फर्किएका छन्।
झापाको दमक नगरपालिका–९ स्थित ‘मिनी दरबार’ भनेर चिनिने हिमालयन महालक्ष्मी टी–इस्टेटमा बस्दै आएका शाहलाई लिन कैलाश एयरको हेलिकोप्टर पुगेको थियो। सोही हेलिकोप्टरमार्फत उनी काठमाडौं आइपुगेका हुन्।
यसअघि उनको स्वागतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विभिन्न राजावादी समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा भव्य प्रदर्शन तथा र्यालीको तयारी गरेका थिए। विमानस्थलबाट र्यालीसहित महाराजगञ्जस्थित निर्मल निवाससम्म लैजाने योजना बनाइएको थियो।
तर सो कार्यक्रमलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौं ले सुरक्षा चुनौती र यात्रुको आवागमनलाई मध्यनजर गर्दै विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। आदेशअनुसार अबको एक महिनासम्म विमानस्थल र आसपासका क्षेत्रमा पाँच जनाभन्दा बढी भेला भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन वा सभा गर्न निषेध गरिएको छ।
प्रशासनले निषेधाज्ञा जारी गरेसँगै विमानस्थल क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ।
प्रकाशित मिति: १ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया