काठमाडौं । काठमाडौंको मण्डिखाटारस्थित सम्भव सिरोहिया को घरमा गत भदौ २४ गते भएको तोडफोड, आगजनी र लुटपाटको घटनामा संलग्न पाँच जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ।

पार्टीका अनुसार सिरोहियाले दिएको जाहेरी र प्रहरीको प्रतिवेदन अनुसार आगजनी तथा लुटपाटबाट करिब १४ करोड ६४ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

advertisement

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ३५ वर्षीय सुजन डंगोल, ३५ वर्षीय विवेक थापा, धादिङका ३३ वर्षीय गोपाल थापा, गोरखाका २५ वर्षीय रोजिस घिमिरे र धनकुटाको महालक्ष्मी नगरपालिका-३ का ३० वर्षीय प्रज्ज्वल रोगु विरुद्ध ‘अपराधिक उपद्रव तथा चोरी’ सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ।

अभियोगपत्र अनुसार, ‘जेन्जी आन्दोलन’को बहानामा अराजक समूहले दिउँसो करिब १ बजेदेखि राति १० बजेसम्म सिरोहियाको निवासमा प्रवेश गरी कम्पाउण्डभित्र पार्क गरिएका विलासी सवारीसाधनहरूमा आगो लगाएको थियो। आगजनीमा डिपल, ज्यागुअर, ह्युन्डाई र ल्याण्ड रोभर डिस्कभरी जस्ता कारहरू पूर्ण रूपमा नष्ट भएका थिए।

लुटपाटमा ३५ तोला सुन, २० थान चाँदीका गहना, ३१ केजी चाँदीका सिक्का, ८ थान सोफा सेट, डाइनिङ टेबल, ल्यापटप, क्यामरा र अन्य बहुमूल्य फर्निचरहरू पनि चोरी भएका थिए।

अनुसन्धानका क्रममा प्रहरीले अभियुक्तहरूको कोठाबाट ठूलो परिमाणमा चोरी गरिएका चाँदीका सिक्का र अन्य बहुमूल्य वस्तु बरामद गरेको छ। बरामद सामानमा ऐतिहासिक ‘एडवर्ड VII’ अंकित सिक्का, विभिन्न देशका मुद्रा, झुम्का र अन्य धातुका गहना समावेश छन्। अभियुक्तहरूले करिब १८ किलो चाँदीका सिक्का आपसमा बाँडेका थिए, जस मध्ये केही प्रहरीलाई बुझाइएको थियो भने बाँकी आफ्ना कोठामा लुकाएर राखिएको थियो।

सिरोहियाबाट चोरी भएका अधिकांश चाँदीका सिक्का र गहना अभियुक्तहरूले स्वीकार गरेका छन्। रोजिस घिमिरेले लुटिएका सिक्काहरू पगालेर नयाँ सिक्री बनाएको पनि बयानमा उल्लेख छ।

सरकारी वकिल कार्यालयले प्रतिवादीहरूलाई दफा २८५ (अपराधिक उपद्रव) अनुसार ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना, दफा २४१ (चोरी) अनुसार ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना माग गरेको छ। चोरीको सामान खरिद/राख्ने रोजिस घिमिरेलाई दफा २४६ (क) बमोजिम ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना माग गरिएको छ।

प्रकाशित मिति: १ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com