काठमाडाैं । केपी शर्मा ओली ले आगामी प्रतिनिधिसभा निर्वाचनलाई ‘देश बनाउने र देश जलाउने शक्तिहरूबीचको लडाइँ’ का रूपमा चित्रण गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) द्वारा झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देशको सार्वभौमसत्ता, विकास र समृद्धिका लागि एमालेको विजय आवश्यक रहेको दाबी गरे।

advertisement

ओलीले आफ्ना पुराना राजनीतिक सहयात्रीहरू हरिवंश सिवाकोटी र डा. केआर खम्बुलगायत नेताहरूको योगदानको स्मरण गर्दै एमाले विगत पाँच–छ दशकदेखि निरन्तर आन्दोलन र राजनीतिक संघर्षमा रहेको उल्लेख गरे। देशको भविष्य सुरक्षित राख्ने शक्ति एमाले भएको उनको भनाइ थियो।

निर्वाचन रोक्ने र बिथोल्ने प्रयास भइरहेको दाबी गर्दै उनले त्यस्ता गतिविधिप्रति आपत्ति जनाए। विपक्षी दलहरूले एमालेको झण्डा जलाउने तथा अवाञ्छित गतिविधि गरी चुनावी वातावरण बिगार्न खोजेको आरोप पनि उनले लगाए। झण्डाको अपमान गर्नु निर्वाचनविरुद्धको अपराध भएको उनको धारणा थियो।

आफ्नो नेतृत्वको सरकारले गरेका कामहरूको फेहरिस्त प्रस्तुत गर्दै ओलीले हुलाकी राजमार्ग निर्माण, ज्येष्ठ नागरिक भत्ता चार हजार रुपैयाँ पुर्‍याउने निर्णय, साक्षरता दरमा वृद्धि तथा ३९६ वटा आधारभूत अस्पतालको शिलान्यासजस्ता काम उल्लेख गरे। दुर्गम क्षेत्रमा सुत्केरी र गम्भीर बिरामीको हेलिकप्टरमार्फत उद्धार व्यवस्था गरिएको पनि उनले बताए।

आफूमाथि भइरहेको आलोचनाबारे बोल्दै ओलीले भ्रष्टाचार नगरेकै कारण आफू निशानामा परेको दाबी गरे। आफ्नो लामो राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार नगरेको र नगर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले राष्ट्रिय स्वाभिमानका मुद्दामा अडान लिँदा प्रहार भएको बताए।

नेपाललाई जात, धर्म र भूगोलका नाममा विभाजन गर्न खोज्ने तत्वविरुद्ध आफू उभिएको उल्लेख गर्दै उनले एमाले कसैको कठपुतली नभएको र देशको एक इन्च जमिन पनि तलमाथि हुन नदिने उद्घोष गरे।

उनले झापा क्षेत्र नम्बर ३ का उम्मेदवार हरिबहादुर राजवंशीको पक्षमा मतदान गर्न मतदातालाई आग्रह गरे। सूर्य चुनाव चिह्नको सांस्कृतिक र प्रतीकात्मक महत्व उल्लेख गर्दै उनले पार्टीको विजयका लागि गाउँ–गाउँ र घर–घरमा राष्ट्रिय एकताको सन्देश पुर्‍याउन कार्यकर्तालाई निर्देशन दिए।

कार्यक्रममा एमाले प्रवेश गरेका युवाहरूलाई स्वागत गर्दै उनले पार्टी छोडेर गएकाहरूलाई पनि फर्कन आह्वान गरे। व्यक्तिगत लाभभन्दा देशसेवाको भावना लिएर राजनीतिमा लाग्नुपर्ने उनको भनाइ थियो।

प्रकाशित मिति: १० फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com