सल्यान। सल्यान जिल्लामा निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी २८ उजुरी दर्ता भएका छन् । जिल्ला आचारसंहिता अनुगमन समितिमा २५ मौखिक र ३ लिखित उजुरी परेको अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले जानकारी दिएका छन् ।
‘लिखित उजुरी दर्ताको प्रक्रिया केही लामो हुने भएकाले मौखिक उजुरी पनि समितिले स्वीकार गरेको छ,’ उनले भने, ‘राजनीतिक दलका कार्यकर्ता, अभियन्ता तथा सर्वसाधारणबाट कुल २८ उजुरी प्राप्त भएका छन् ।’
उजुरीहरूमा मुख्यतः स्थानीय तहका जनप्रतिनिधि तथा शिक्षकहरू चुनाव प्रचारमा संलग्न भएको, सामाजिक सञ्जालमा प्रचार सामग्री पोस्ट गरिएको, पोस्टर टाँसेर आचारसंहिता उल्लंघन गरेको जस्ता विषयहरू समावेश छन् ।
यसबाहेक, नयाँ योजनाको शिलान्यास गरिएको, स्थानीय सरकारका पदाधिकारीहरूले सरकारी साधन–स्रोत तथा पदको दुरुपयोग गरी चुनाव प्रचार गरेको आरोप पनि उजुरीमा उल्लेख छन् ।
निर्वाचन आचारसंहिता लागू भएपछि सरकारी स्रोत, साधन तथा पदको दुरुपयोग गर्न नपाइने प्रावधान भए पनि त्यसको पालना नभएका घटनाहरू बढेपछि अनुगमनलाई कडाइ गरिएको अनुगमन अधिकृत शर्माले बताए ।
‘आचारसंहिता विपरीतका गतिविधिले निर्वाचनको निष्पक्षता र पारदर्शितामाथि प्रश्न उठाउँछन्,’ उनले भने, ‘त्यसैले प्राप्त उजुरीहरूको छानबिन गरी कारबाही प्रक्रिया अघि बढाइएको छ । अनुगमन कार्यलाई थप प्रभावकारी बनाइएको छ ।’
सल्यानमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउन आचारसंहिता पालना गर्न सम्बन्धित सबै पक्षलाई समितिले आग्रह गरेको छ । उजुरीहरूको छानबिनपछि दोषी ठहरिएकालाई कानुनी दायित्वमा ल्याइने बताइएको छ ।
प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया