काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत झापा–५ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पराजित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र (बालेन) शाहले उनलाई ठूलो मतान्तरले हराएका हुन्।
निर्वाचन परिणाम अनुसार बालेन शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दै विजय हासिल गरे। उनका मुख्य प्रतिस्पर्धी ओली भने १८ हजार ७३४ मतमै सीमित भए। यससँगै बालेनले ओलीलाई ४९ हजार ६१४ मतको फराकिलो अन्तरले पछि पारे।
यस क्षेत्रमा श्रम संस्कृति पार्टीका समिर तामाङ तेस्रो स्थानमा रहे। उनले ९ हजार २३३ मत प्राप्त गरे। नेपाली कांग्रेसकी मंधरा चिमरिया भने १ हजार ८२१ मतसहित चौथो स्थानमा रहिन्।
झापा–५ बाट ओली विगतमा पटक–पटक निर्वाचित हुँदै आएका थिए। तर यसपटक पहिलोपटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका बालेन शाहले उनलाई पराजित गर्न सफल भए। राष्ट्रिय स्वतन्त्र पार्टीले बालेनलाई भावी प्रधानमन्त्रीको सम्भावित उम्मेदवारका रूपमा प्रस्तुत गर्दै चुनावी अभियान सञ्चालन गरेको थियो।
यसअघि काठमाडौँ महानगरपालिकाका मेयर रहेका बालेनले प्रतिनिधि सभा निर्वाचन घोषणा भएपछि पदबाट राजीनामा दिँदै संसदीय राजनीतिमा प्रवेश गर्ने तयारी गरेका थिए।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार












प्रतिक्रिया