रूपन्देही । भैरहवास्थित नापी कार्यालयमा सेवाग्राहीलाई ठगी गर्दै आएको आरोपमा दुई जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार नापी कार्यालयमा कामका लागि आउने सर्वसाधारणलाई छिटो सेवा दिलाइदिने भन्दै अतिरिक्त रकम असुल्ने गरेको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
सरकारी कार्यालयमा बिचौलियाको चलखेल रोक्न सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत खटिएका प्रहरीले उनीहरूलाई रङ्गेहात पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा ओमसतिया गाउँपालिका–३ का ३२ वर्षीय शिवनारायण कुर्मी र रोहिणी गाउँपालिका–३ का ३० वर्षीय सुरेन्द्र मल्लाह रहेका छन्। उनीहरूलाई शुक्रबार नापी कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको हो।
प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार पक्राउ परेका दुवै जनामाथि ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: २१ चैत्र २०८२, शनिबार













प्रतिक्रिया