काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय समितिका सभापति चयनबारे आन्तरिक छलफलमा जुटेको छ।
पार्टीका नेताहरूका अनुसार सार्वजनिक लेखा समितिको सभापति विपक्षी दललाई दिनुपर्ने विषयमा रास्वपा स्पष्ट छ। तर, कुन विपक्षी दललाई उक्त जिम्मेवारी दिने भन्ने विषयमा भने अझै निर्णय भइसकेको छैन।
प्रतिनिधिसभामा रास्वपाबाहेक नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रतिपक्षमा रहेका छन्।
त्यस्तै, प्रतिनिधिसभा अन्तर्गतका बाँकी ९ वटा विषयगत संसदीय समितिमा कसलाई सभापति बनाउने भन्ने विषयमा पनि रास्वपाभित्र छलफल जारी छ।
स्रोतका अनुसार, रास्वपामा हालै एकीकृत भएका समूह तथा दलबाट आएका नेताहरूलाई समितिको नेतृत्वमा अवसर दिने तयारी गरिएको छ। निर्वाचनअघि विवेकशील साझा लगायतका समूहहरू रास्वपामा समाहित भएका थिए।
संघीय संसद् अन्तर्गत कुल १६ वटा विषयगत समिति रहेका छन्, जसमध्ये प्रतिनिधिसभा अन्तर्गत १०, राष्ट्रिय सभा अन्तर्गत ४ र दुई वटा संयुक्त समिति रहेका छन्। राष्ट्रिय सभा अन्तर्गतका समितिका सभापति यसअघि नै चयन भइसकेका छन्।
गत शुक्रबार प्रतिनिधिसभा अन्तर्गतका १० वटा र दुई संयुक्त समिति गठन गरिएको थियो। ती समितिहरूको सभापति चयनका लागि आगामी वैशाख ४ गते निर्वाचन तय गरिएको छ।
प्रकाशित मिति: २९ चैत्र २०८२, आइतबार













प्रतिक्रिया