एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबासम्बन्धी कडा अभिव्यक्ति दिँदै आवश्यक परे तत्काल कदम चालेर क्युबामाथि नियन्त्रण लिन सकिने संकेत गरेका छन्।
पाम बिचस्थित एक डिनर कार्यक्रममा बोल्दै ट्रम्पले क्युबामा लामो समयदेखि समस्याहरू देखिँदै आएको उल्लेख गर्दै अब कठोर निर्णय आवश्यक हुन सक्ने बताएका हुन्।
उनका अनुसार क्युबाको अवस्थाले क्षेत्रीय सुरक्षा र अमेरिकी हितमा असर पारिरहेको छ।
यसअघि ह्वाइट हाउसले सार्वजनिक गरेको वक्तव्यमा क्युबा सरकारका नीति र गतिविधिहरूले अमेरिका र अन्तर्राष्ट्रिय समुदायका लागि चुनौती सिर्जना गरिरहेको दाबी गरिएको थियो।
साथै ती गतिविधिहरू लोकतान्त्रिक मूल्य–मान्यतासँग मेल नखाने पनि उल्लेख गरिएको थियो।
ट्रम्प प्रशासनले क्युबामाथि नयाँ प्रतिबन्ध विस्तार गरेसँगै सम्बन्ध थप चिसिएको छ।
क्युबाली सरकारले भने अमेरिकाका कदमलाई कडा शब्दमा आलोचना गर्दै यसलाई जनतामाथिको दबाब र सामूहिक दण्डको रूपमा व्याख्या गरेको छ।
क्युबाका विदेशमन्त्रीले अमेरिकी हस्तक्षेप अन्तर्राष्ट्रिय कानुन विपरीत रहेको दाबी गर्दै कुनै पनि प्रकारको प्रतिबन्ध लगाउने अधिकार अमेरिकालाई नभएको बताएका छन्।
यसैबीच, ह्वाइट हाउसले क्युबासम्बन्धी नीतिहरू अझ कडा बनाउन सकिने संकेत दिएको छ, जसले आगामी दिनमा दुई देशबीचको तनाव अझ बढ्ने अनुमान गरिएको छ।
प्रकाशित मिति: १९ बैशाख २०८३, शनिबार













प्रतिक्रिया