काठमाडौं। दूरसञ्चार क्षेत्रसँग सम्बन्धित एक महत्त्वपूर्ण मुद्दामा स्मार्ट टेलिकम (स्मार्ट सेल)का प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी आरोपमा नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार जोशीलाई काठमाडौँको खुर्सानीटार क्षेत्रबाट पक्राउ गरिएको हो।
प्रारम्भिक अनुसन्धानले उनले सरकारी स्वामित्वमा गइसकेको सम्पत्तिमा अनियमित ढंगले हस्तक्षेप गरेको आशंका देखाएको छ।
स्मार्ट टेलिकम ले विगतमा दूरसञ्चार सेवा सञ्चालनका लागि अनुमति पाए पनि निर्धारित समयसम्म नवीकरण नगर्दा कम्पनीको अनुमति खारेज भएको थियो।
त्यसपछि कानुनी प्रावधानअनुसार कम्पनीसँग सम्बन्धित सम्पूर्ण पूर्वाधार र प्रणाली सरकारी नियन्त्रणमा जाने व्यवस्था रहेको छ।
तर, सोही सम्पत्तिमा अनुचित रूपमा प्रयोग र हस्तक्षेप भएको आशंकामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
सरकारी हकमा पर्ने सम्पत्तिबाट व्यक्तिगत लाभ लिन खोजिएको प्रारम्भिक निष्कर्षका आधारमा जोशीलाई नियन्त्रणमा लिइएको हो।
अहिले उनीमाथि थप अनुसन्धान जारी रहेको छ। प्रहरीले यस प्रकरणमा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा पनि छानबिन गरिरहेको जनाएको छ।
प्रकाशित मिति: २२ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया