काठमाडौं। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले गत भदौ २३ र २४ गते भएको घटनाको छानबिनका लागि गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले प्रतिवेदन सरकारलाई बुझाइसकेको भए पनि हालसम्म सार्वजनिक नगरिएको बताए। उनले सो प्रतिवेदन सार्वजनिक गरी सबै सांसदलाई उपलब्ध गराउनुपर्ने आवश्यकता औंल्याए।
केसीले भने, “भदौ २३ र २४ गते भएको नरसंहार तथा विध्वंसको छानबिन गर्न गठित आयोगले प्रतिवेदन बुझाइसकेको छ, तर त्यो अझै औपचारिक रूपमा सार्वजनिक भएको छैन।
त्यसलाई तत्काल सार्वजनिक गरी सबै माननीय सदस्यलाई उपलब्ध गराइनुपर्छ।”
त्यस्तै, उनले भदौ २३ देखि २६ गतेसम्म भएका हिंसात्मक घटनासम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगकी लिली थापाको संयोजकत्वमा तयार गरिएको प्रतिवेदन पनि रोकिएकोप्रति आपत्ति जनाए।
उनले उक्त प्रतिवेदन किन र कसको स्वार्थमा रोकिएको हो भन्ने विषयमा संसदलाई स्पष्ट जानकारी दिन सरकारसँग माग गरे।
उनले सो अवधिमा करिब १२ घण्टासम्म देशमा राज्य संयन्त्र कमजोर भई नागरिक असुरक्षित बनेको उल्लेख गर्दै यस्ता घटना दोहोरिन नदिन सरकारले ठोस प्रतिबद्धता जनाउनुपर्ने धारणा राखे।
प्रकाशित मिति: ४ जेष्ठ २०८३, सोमबार













प्रतिक्रिया