काठमाडौं। गृह मन्त्रालय ले १८ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले शुक्रबार १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र ६ जना सहसचिवको जिम्मेवारी हेरफेर गरेको हो।

मन्त्रालयका अनुसार मन्त्रालय तथा मातहतका निकायमा कार्यरत सहसचिवलाई विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीका रूपमा पदस्थापन गरिएको छ भने कार्यकाल पूरा गरेका केही प्रजिअलाई एक जिल्लाबाट अर्को जिल्लामा सरुवा गरिएको छ।

advertisement

सरुवाअनुसार सहसचिव निराजन घिमिरेलाई स्याङ्जा, कुमानसिंह गुरुङलाई कास्की र लक्ष्मी पाण्डे गौतमलाई धादिङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।

त्यस्तै, स्याङ्जाका प्रजिअ ईश्वरीप्रसाद अर्याललाई सङ्खुवासभा, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रजिअ भविश्वर पाण्डेलाई पाल्पा, सुर्खेतका प्रजिअ जगदीश्वर उपाध्यायलाई नवलपरासी (बर्दघाट–सुस्तापूर्व), रामेछापका प्रजिअ श्यामकृष्ण थापालाई सप्तरी, कास्कीकी प्रजिअ रुद्रादेवी शर्मालाई धनकुटा तथा सङ्खुवासभाकी प्रजिअ सिर्जना थपलियालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय काठमाडौं सरुवा गरिएको छ।

यसैगरी, ओखलढुङ्गाका प्रजिअ मेखबहादुर मङ्ग्रातीलाई उदयपुर, सप्तरीका प्रजिअ टुवराज पोखरेललाई ओखलढुङ्गा, धादिङका प्रजिअ विजयराज सुवेदीलाई सर्लाही, पाल्पाकी प्रजिअ विनु बज्राचार्यलाई रामेछाप, उदयपुरका प्रजिअ धर्मराज जोशीलाई सुर्खेत तथा सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी रामुराज कडरियालाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले प्रमुख जिल्ला अधिकारीहरूको सरुवा तथा पदस्थापन नियमित प्रशासनिक प्रक्रियाअन्तर्गत गरिएको बताए। मन्त्रिपरिषद्को निर्णयअनुसार गृह मन्त्रालय वा मातहतका निकायमा सरुवा भई आएका सहसचिवलाई जिम्मेवारी प्रदान गर्न, रिक्त रहेका जिल्लामा पदपूर्ति गर्न तथा कार्यकाल पूरा गरेका प्रजिअहरूको व्यवस्थापन गर्न सरुवा गरिएको उनले स्पष्ट पारे।

यस्तै, सहसचिव बलराम निरौलालाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय, भैरहवामा पदस्थापन गरिएको छ। सहसचिव प्रदीपकुमार कोइरालालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सहसचिव कृष्ण पौडेललाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: २२ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com