काठमाडौँ। नयाँ पार्टी गठनको तयारीमा रहेका डा. धवलशमशेर राणा र दुर्गा प्रसाईंले संगठन विस्तारका लागि २४ वटा समिति गठन गरेका छन्। उनीहरूले नेताहरूलाई विभिन्न विभाग तथा जिम्मेवारीहरू बाँडफाँट गरेका हुन्।
आइतबार बसेको समूहको बैठकबाट समितिहरूको संरचना तय गरिएको हो। बृहत् राष्ट्रवादी एकता कायम गर्दै नयाँ राजनीतिक दल निर्माण गर्ने उद्देश्यसहित राणा नेतृत्वको समूह र प्रसाईं नेतृत्वको ‘नागरिक बचाउ महाअभियान, नेपाल’ बीच सहमति भएपछि पार्टी निर्माणको प्रक्रिया अघि बढाइएको छ।
समूहले असारको पहिलो साताभित्र नयाँ दल घोषणा गर्ने तयारी गरेको जनाएको छ। सोहीअनुसार संगठनात्मक संरचना, नीति निर्माण र विभिन्न विभागीय व्यवस्थापनका लागि समिति गठन गरिएको बताइएको छ।
गठन गरिएका समितिहरूमा कार्यदल, वार्ता, सचिवालय, विधान मस्यौदा, आर्थिक, सञ्चार, कानुनी परामर्श, युवा, महिला, प्रवास, खेलकुद, वातावरण, सांस्कृतिक लगायतका विभिन्न क्षेत्र समेटिएका छन्।
नेतृत्वले यी समितिहरूलाई पार्टी निर्माणको तयारीलाई व्यवस्थित र प्रभावकारी बनाउन जिम्मेवारी दिएको जनाएको छ।
प्रकाशित मिति: ३१ जेष्ठ २०८३, आइतबार












प्रतिक्रिया