काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले नागरिकलाई कर छुट दिएको देखिए पनि वास्तविक रूपमा मध्यम वर्गमाथि थप आर्थिक भार बढाएको आरोप लगाएका छन्।

ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले सरकारले कर छुट दिएको जस्तो देखाए पनि विभिन्न शीर्षकबाट त्योभन्दा बढी रकम असुल्ने काम भएको बताए।

advertisement

थापाका अनुसार व्यक्तिगत आयकरको सीमा बढाउँदा केही राहत भए पनि शिक्षा, स्वास्थ्य र विद्युत् जस्ता क्षेत्रमा थप शुल्क तथा कर लगाइँदा त्यो राहत भन्दा बढी खर्च बढ्ने अवस्था बनेको छ।

उनले निजी विद्यालय र स्वास्थ्य सेवामा लगाइएको ३ प्रतिशत शुल्क धेरै परिवारका लागि अतिरिक्त बोझ भएको उल्लेख गरे। साथै, सरकारी सेवा पर्याप्त नहुँदा निजी क्षेत्रमै निर्भर हुनुपर्ने बाध्यताले यो कर अझै भारी पर्ने उनको भनाइ थियो।

विद्युत् उपभोगमा ५० युनिटभन्दा माथि भ्याट लगाइने व्यवस्थाले पनि मध्यम वर्गीय परिवारको मासिक खर्च बढ्ने उनले बताए।

थापाले सरकारको राजस्व लक्ष्य उच्च भएकाले ब्याजदर, ऋण र मूल्यवृद्धिमा समेत दबाब बढ्न सक्ने चेतावनी दिए।

उनका अनुसार, मासिक करिब ६० हजार आम्दानी गर्ने मध्यम वर्गीय परिवारले कर छुटबाट केही बचत गरे पनि अन्य क्षेत्रमा बढी खर्च गर्नुपर्ने भएकाले कुल रूपमा घाटा हुने अवस्था छ।

उनले शिक्षा र स्वास्थ्यलाई विलासिता नभई आधारभूत आवश्यकता मान्दै ती क्षेत्रमा लगाइएका कर पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन्।

प्रकाशित मिति: ३१ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com