काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१५, तीनथानामा स्कुटर र मिनी ट्रक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

सोमबार बिहान करिब २ः५८ बजे सतुङ्गलबाट कलंकीतर्फ आउँदै गरेको बा.प्र.०२–०३८ प ९८९७ नम्बरको स्कुटर र सोही दिशातर्फ गइरहेको लु.१ क ४२५६ नम्बरको मिनी ट्रक आपसमा ठोक्किएका थिए।

दुर्घटनामा स्कुटर चालक र पछाडि सवार महिला गम्भीर घाइते भएका थिए। दुवैलाई तत्काल उद्धार गरी उपचारका लागि कलंकीस्थित शहीद मेमोरियल अस्पताल पुर्‍याइएको थियो। अवस्था गम्भीर भएपछि थप उपचारका लागि उनीहरूलाई ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा रिफर गरिएको थियो।

उपचारका क्रममा चन्द्रागिरि नगरपालिका–१२, हरियालीका ४० वर्षीय दीपक नेपाललाई चिकित्सकले मृत घोषणा गरेका थिए। यस्तै, स्कुटरमा पछाडि सवार चन्द्रागिरि नगरपालिका–१४ की ५६ वर्षीया शुभद्रा कुमारी नेपालको पनि बिहान ७ः०५ बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि स्कुटर ट्राफिक प्रहरी प्रभाग कलंकीको नियन्त्रणमा राखिएको छ। मिनी ट्रक र त्यसका चालकलाई भने प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको छ।

दुर्घटना कसरी भयो भन्नेबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com