काठमाडौं । जेनजी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको गोलीकाण्डको नैतिक तथा राजनीतिक जिम्मेवारी लिएर गृहमन्त्री सुधन गुरुङले राजीनामा दिनुपर्ने माग गरेका छन्।
साउनको सोमबार स्नानका लागि गएका युवा ओमप्रकाश मेहताको मृत्यु भएको घटनाप्रति आक्रोश व्यक्त गर्दै हमालले नागरिकमाथि घातक बल प्रयोग गरिएको भन्दै सरकारको आलोचना गरेका हुन्।
सामाजिक सञ्जालमार्फत उनले घटनाको तत्काल जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन्। भीड नियन्त्रणका लागि आवश्यक संयम, सीप र गैरघातक उपकरणको प्रयोग नगरी नागरिकमाथि गोली चलाइएको उनको आरोप छ।
‘यो घटनाको तत्काल जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ। अमानवीय ढंगले नागरिकमाथि गोली प्रहार गरेर हत्या गरिएको छ। भीड नियन्त्रण गर्ने कौशलता र उपलब्ध उपकरणको उचित प्रयोग नगरी मान्छे मारेर कहिल्यै शान्ति कायम हुन सक्दैन,’ हमालले भनेका छन्।
उनले नागरिकमाथि घातक बल प्रयोग भएको घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन गर्नसमेत माग गरेका छन्। भीड नियन्त्रणका लागि उपलब्ध विधि र उपकरणको प्रभावकारी प्रयोग नगरी गोली चलाइएको भए त्यसको जिम्मेवारी तय हुनुपर्ने उनको भनाइ छ।
हमालले घटनामा दोषी देखिने जोसुकै भए पनि कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई न्याय तथा आवश्यक राहत उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन्।
उनले सरकारले नागरिकको ज्यान जाने गरी बल प्रयोग गर्दा देशलाई साम्प्रदायिक द्वन्द्वतर्फ धकेल्ने जोखिम बढेको चेतावनीसमेत दिएका छन्। समयमै संयम अपनाएर साम्प्रदायिक तनाव फैलिन नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ।
आइतबार राति दुई समुदायबीच भएको हिंसात्मक झडपपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरेको थियो। तर कर्फ्युका बीच पनि प्रदर्शन नरोकिएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रशासनका अनुसार कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शनकारीले आगजनी तथा तोडफोड गर्न थालेपछि थप क्षति हुन नदिन र शान्ति–सुरक्षा कायम गर्न सेना परिचालन गरिएको हो।
प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार













प्रतिक्रिया