काठमाडौं । अवैध बाटोबाट रुसी सेनामा भर्ती हुन रुस पठाएको आरोपमा पक्राउ परेका १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । काठमाडौं प्रहरीको विशेष टोलीले उनीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरुमा उदयपुर कटारी–६ का हरिबहादुर विक, काठमाडौं जोरपाटीका–५ का सन्तोष रोका, सिन्धुपाल्चोक इन्द्रवाती–२ का मनिष न्यौपाने, काठमाडौं–१६ का रोजल महर्जन छन् ।

त्यस्तै काठमाडौं बूढानिलकण्ठका क्षितिज गिरी, सिराहा गोलबजारका दिपेन परियार, काभ्रेका सुवास लामा, चितवन राप्तीका गोकर्ण अर्याल, बाराका सन्तोष नेपाल, ओखलढुङ्का सुजता दाहाल, लमजुङका ईश्वर अधिकारी र दाङ घोराहीका द्रोणा डांगी छन् ।

उनीहरुको साथबाट प्रहरीले रसिया पठाउन लागेका विभिन्न व्यक्तिको पासपोर्टसहित पक्राउ गरेको छ ।  त्यो बाहेक प्रहरीले उनीहरुको साथबाट २६ लाख नगद रुपैयाँ मोबाइलसमेत बरामद गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए ।

पक्राउ परेका मध्ये हरि विक र सुजता दाहाल मूख्य एजेन्ट रहेको प्रहरीको दाबी छ ।  बरामद भएको पासपोर्ट मध्ये सुजताको साथबाट २७ थान पासपोर्ट र १४ लाख १८ हजार नगद रकम तथा ईश्वर अधिकारीको साथबाट १६ थान पासपोर्ट र १३ लाख ४२ हजार नगद रुपैयाँ बरामद भएको हो ।

उनीहरुले पठाएका मध्ये ११ जना रसिया पुगेर नेपाल फर्किएको खुलेको छ ।  उनीहरुले विभिन्न सामाजिक सञ्जालमार्फत् रसियन आर्मीमा भर्ना हुनका लागि आवश्यक अन्तर्वार्ताको कक्षासमेत सञ्चालन गर्ने गरेको खुलेको छ ।

उनीहरुको भिषा प्रक्रियाको सबै काम हरि विकले गर्ने गरेको खुलेको छ ।  प्रहरीका अनुसार विक नेपाली सेनाका अवकासप्राप्तसमेत हुन् । प्रहरीकाअनुसार रसिया पुगेर फर्किनेहरुमा एक जना प्रहरी र एक जना सशस्त्र प्रहरीकै असईसमेत छन् ।

उनीहरु दुवैजनालाई हरि विकले पठाएको खुलेको छ । उनीहरु रसियन सेनामा तीनमहिना कामसमेत गरेर फर्किएको खुलेको छ । पीडितले प्रहरीलाई दिएको जानकारीअनुसार रसियन आर्मीले युद्धका लागि अग्रभूमिकामा नेपालीलाइ पठाउने गरको बयान दिएका छन् ।

पीडित सशस्त्रका असईले प्रहरीसँगको बयानमा भनेका छन्, “म तीन महिना रसियन सेनामा काम गरेर आएँ । युद्धको लागि पहिलो भूमिकामा नेपालीलाई पठाउने गरेका छन् । छनोटको लागि सबैभन्दा हतियार राम्रो चलाउनेलाई मात्रै छान्छ । मैले सात सय गोली चलाएर आएँ ।”

रुसी सेनाले युद्धमा जानका लागि दबाब दिन थालेपछि आफूहरु नेपाल फर्किएको उनीहरुले बयान दिएका छन् ।

प्रकाशित मिति: २० मंसिर २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com