काठमाडौं : कुनै पनि देशको आर्थिक अवस्थालाई कुल गार्हस्थ उत्पादन (जीडीपी) ले प्रतिनिधित्व गरेको हुन्छ । कुनै राष्ट्रले एक वर्षभित्र उत्पादन गर्ने सम्पूर्ण वस्तु तथा सेवाहरुको कुल बजार मूल्यलाई जीडीपी भनिन्छ । देशको अर्थतन्त्रको आकार अनुमान गर्न जीडीपीलाई प्रयोग गरिन्छ । विश्वभर देशहरुको जीडीपी आर्थिक चक्रहरुको चरणसँगै उतारचढाव भइरहेको हुन्छ ।
देशको मुद्राको दरमा हुने उतारचढावले पनि जीडीपीमा असर गरिरहेको हुन्छ । उचारचढाव भएपनि जीडीपीद्वारा मापन गरिएका शीर्ष अर्थतन्त्रहरुको सूचीहरु भने प्रायः समान नै रहँदै आएको छ । त्यो भए संसारका ७ ठूला अर्थतन्त्र वा जीडीपी भएका मुलुकहरु कुन–कुन होलान् ? यो धेरैलाई चासोको विषय पनि हुन सक्छ । यसैक्रममा हामीले यसलाई खोतल्ने प्रयास गरेका छौं ।
यस्तो छ विश्वका ७ ठूला अर्थतन्त्रहरुको पछिल्लो सूची 
१) अमेरिका
अमेरिकाको वास्तविक कुल गार्हस्थ उत्पादन करिब २०९ खर्ब डलर रहेको छ । विश्व बैंकको सन् २०२० को तथ्यांक अनुसार अमेरिकाको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन ६५ हजार ५०० डलर भन्दा बढी रहेको छ । अमेरिकी जीडीपीमा मुख्य योगदान फाइनान्स, रियल स्टेट, इन्सुरेन्स, स्वास्थ्यलगायत देशको सेवा क्षेत्रको रहेको छ । अमेरिकाको सेवा क्षेत्र धेरै विकसित र प्राविधिकरुपमा परिष्कृत पनि छ । विश्वप्यापी अर्थतन्त्रमा अमेरिकाको हिस्सा २४.६७% रहेको छ ।
२) चीन
विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो । पछिल्लो केही दशकमा चीनले लोभलाग्दो आर्थिक प्रगति गरेको छ । विश्व बैंकको तथ्यांक अनुसार सन् २०२० मा चीनको कुल गार्हस्थ उत्पादन १४७ खर्ब अमेरिकी डलर रहेको छ । प्रतिव्यक्ति जीडीपी भने १० हजार ५०० डलर रहेको छ ।

चीनको अर्थतन्त्रमा उत्पादन क्षेत्रको ठूलो योगदान छ । जसका कारण चीन विश्वको पहिलो नम्बरको निर्यातकर्ता बन्न सफल भएको छ । अनुमानहरुलाई आधार मान्ने हो भने सन् २०३० सम्ममा अमेरिकालाई उछिन्दै चीन विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने देखिएको छ । । विश्वप्यापी अर्थतन्त्रमा चीनको हिस्सा १७.३९% रहेको छ ।

३) जापान 
जापानको अर्थतन्त्र ५० खर्ब भन्दा बढी रहेको विश्व बैंकको तथ्यांकले देखाउँछ । प्रतिव्यक्ति जीडीपी ४० हजार डलर भन्दा बढी रहेको छ । सन् १९६०, ७० र ८० को दशकमा जापानले आश्चर्यजनक गतिमा आर्थिक वृद्धि हासिल गरेको थियो । जापान प्रविधि र उत्पादनको क्षेत्रमा अगाडि रहेको जापान निर्यातमुखी अर्थतन्त्र हो । यद्दपि, प्रकृतिक स्रोत साधनको कमीका कारण उर्जाका लागि भने आयातमा भर पर्ने गरेको छ । विश्व अर्थतन्त्रमा जापानको हिस्सा ५.९७% छ ।
४) जर्मनी
 जर्मनीको कुल गार्हस्थ उत्पादन सन् २०२० मा ३८ खर्ब रुपैयाँ रहेको छ । यस्तै, प्रतिव्यक्ति जीडीपी ४५ हजार ७२३ डलर रहेको छ । जर्मनी सवारीसाधन, मेसिनरी, केमिकल तथा अन्य उत्पादित वस्तुहरुको प्रमुख निर्यातकर्ता हो । जर्मनीसँग दक्ष जनशक्तिहरु भएपनि पछिल्लो समय भने न्यून प्रजनन दरका कारण वृद्ध हुँदै गएको जनशक्ति प्रतिस्थापन गर्न चुनौती थपिने देखिएको छ । विश्व अर्थतन्त्रमा जर्मनीको हिस्सा ४.५४% रहेको छ ।
५) बेलायत 
विश्व अर्थतन्त्रमा पाँचौं स्थानमा रहेको बेलायतको कुल गार्हस्थ उत्पादन २८ खर्ब डलर रहेको छ । बेलायतको अर्थतन्त्रको नेतृत्व फाइनान्स, इन्सुरेन्स, व्यापारिक सेवा लगायत सेवा क्षेत्रले गरिरहेको छ । यसको प्रतिव्यक्ति जीडीपी ४० हजार २८४ डलर रहेको छ । युरोपेली युनियनबाट बेलायत बाहिरिसकेको छ । यद्दपि, पछिल्लो समय युनियन र बेलायतबीच व्यापारिक सम्बन्धका लागि वार्ताहरु भइरहेका छन् । विश्व अर्थतन्त्रमा बेलायतको हिस्सा ३.२६% रहेको छ ।
६) भारत
छिमेकी राष्ट्र भारतको अर्थतन्त्रको आकार २६ खर्ब डलर भन्दा बढी पुगेको विश्व बैंकको तथ्यांकले देखाएको छ । सन् २०२० मा भारतको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन १ हजार ९०० डलर बढी रहेको छ । भारतको अर्थतन्त्र आधुनिक उद्योग र यान्त्रीक कृषि तथा परम्परागत गाउँले खेतीबीचको मिश्रण हो । विश्व अर्थतन्त्रमा भारतको हिस्सा ३.१४% रहेको छ । भारतको अर्थतन्त्रले सन् २०२३ सम्म बेलायतलाई पछि पार्ने अनुमान गरिएको छ ।
७) फ्राान्स
सन् २०२० मा फ्रान्सको अर्थतन्त्रको आकार २६ खर्ब डलर पुगेको थियो । पर्यटनले फ्रान्सको अर्थतन्त्रको प्रमुख हिस्सा ओगटेको छ । फ्रान्सको अर्थतन्त्र मिश्रित किसिमको छ । विभिन्न किसिमका उद्योगहरुमा निजी तथा अर्ध निजी स्वामित्व रहेको छ भने कतिपय क्षेत्रहरुमा सरकार आफैं संलग्न भएको हुन्छ । सुरक्षा तथा विद्युतीय उर्जा उत्पादनमा सरकारी संलग्नता बढी पाइन्छ । फ्रान्सको प्रतिव्यक्ति जीडीपी ३८ हजार ६२५ डलर रहेको छ । विश्वव्यापी अर्थतन्त्रमा यसको हिस्सा ३.११% रहेको छ ।

प्रकाशित मिति: २ बैशाख २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com