• अध्यापक- नारायण नेपाल, सुनसरी/काठमाडौं

घोषित अभिभावक संस्थाका केही सदस्यहरू एक सहभोजका लागि यात्रामा छन्। धेरैजसोका छोराछोरी एसईईका प्रत्याशी हुन्छन्। सबैले मानेको पिर एउटै हुन्छ तर कसैले पनि बोलेको अवस्था हुँदैन। समयको अन्तरालमा कुराहरू पोखिनथालेको बुझिन्छ।

नियमित उठाउने पैसो, अतिरिक्त कक्षाको छुट्टै सलामी अनि फेरि हप्तैपिच्छेको परीक्षाशुल्कले आजीत भएको छु मित्र ! खाजाको खल्ती बेग्लै, के भ्रमण र के गोष्ठी अनि त्यसको आर्थिक भार । पहिले दश कक्षाको लागि भनेर जबर्जस्ती नानाथरी पैसो उठाए। अहिले त प्राय: सबै कक्षामा यस्तै पारिसके । पढाउने सिकाउने कुरामा ध्यान छैन जताबाट पनि अशुली मात्रै । सामुदायिक विद्यालयमा पनि पो यस्तै सुनिन्छ अचेल । के पो हुन आँटेको हो कुन्नि !

एक अभिभावकले खुइय गर्दै छेउका सहयात्रीसित विचार पोखेको सुनिन्छ। अरूका कानसम्म कुरो पुग्छ र कुरो थपिन्छ ।

सबै लुट्ने त हुन् नि ! शिक्षा चाहिहाल्यो ! बच्चाबच्ची पाइहालिन्छ ! पढाउनु लेखाउनु परिहाल्यो ! अनि कमाउनेलाई छाडा छोडिएको छ। प्राइभेट स्कूलको शिक्षा राम्रो भनेर हल्ला चलायो। सामुदायिक विद्यालयलाई भर्तीकेन्द्र बनायो । खेल्वाड अचम्मको ! खोइ त कोही बोल्दैनन् ।

अर्का अभिभावकको भनाइ कटक्क मनटोक्ने हुन्छ ।

मुख्य परीक्षा आउने बेलामा परीक्षाका लागि आवश्यक इमान्दारीपूर्ण तयारी गराउनु पर्ने र चाहिने पठनसामाग्रीको सर्वसुलभ व्यवस्थापन गर्नुपर्ने, मनोवैज्ञानीक सहजीकरण गर्नुपर्ने, खोइ कसको लहैलहैमा यो परीक्षाको बाढी लगाइएको छ ? कहिले यो समूहको प्रश्न भनिएको छ कहिले त्यो । बेतुकको त्राश क्या ! त्रष्त मानसिकता लिएर के प्रभावकारी परीक्षा लेलान् विद्यार्थी ?

कोचिङ कक्षा गर्ने भनेर अतिरिक्त शुल्क उठाएको हुन्छ। तर अभिभावकको खल्तीको पोचिङमात्रै चलेको छ । अतिरिक्त पैसा उठाएपछि अतिरिक्त सिकाइका शैक्षणिक कृयाकलाप गराइयोस् ताकि त्यसपछिको परीक्षालाई मद्दत हुन्थ्यो । एक त नियमित रूपमा टिचर नआउने, अर्को टिचर पनि प्राय: आफैँ पढ भन्ने र नाटकीय परीक्षाको तयारी गर्न आदेश दिएर बस्ने । यस्तो बहुलट्ठीपनको थप शुल्क उठाउने कस्तो निर्लज्ज चलन चल्दैछ देशमा । जिम्मेवार शैक्षिक निकाय के हेरेर बसेका छन् ? अख्तियार दुरुपायोग कसो गर्दैहोला ? अझै सतर्कता केन्द्र पनि छ रे ! स्थानीय तहमा पनि शैक्षिक थितिबेथिति हेर्ने निकाय त पक्कै होला। सबै जागिरे हुनुपर्ने सिन्को भान्च्ने चैँ क्यै होइनरान् ! सानो मुख लिएर भन्न जाऊँ कत्तिको छुचो हुनुपर्छ। पद र सुविधाका उनीहरू आफैँ चैँ केही नदेख्ने भए। सबैको मिलेमतो पो छ कि नत्र यस्तो ब्रह्मलुट सधैंँको छूट कसरी हुन्छ ? आधारभूत आवस्यकता र नैसर्गिक हकको कुरामा अन्देखी गरिएको ठीक छैन। हाम्रा सर्वसाधारण जनताले शिक्षा नपाउने भए, न्याय नपाउने भए भन्नेभावको अर्को आवाज सुनिन्छ ।

मेरो त बच्चा इस्कुल जानै नमान्ने भैसक्यो । कक्षामा बिहानदेखि बेलुकासम्म राखेका हुन्छन। सोधीखोजी गरेर सिकाउने त त्यत्तिकै हो के-के कुरा गरेर अल्मल्याएर जाने रे आधाजसो टिचर । अनि हल्ला गर्‍यो बस्यो पो भन्छ बाबु ! छिर्के जाँच भन्दै हामीलाई व्यस्त राखिन्छ । बेक्कारमा यो स्कूल पढेको भन्छ । अनि छिर्के जाँचले मुख्य परिक्षा बिग्रन्छ रे र घरमै बसेर आफैँ पढ्छ रे !

कोही अर्को बोलेको प्रष्ट सुनिन्छ !

त्यो मात्रै हो र, अहिले त सबै स्कूलमा त्यस्तै गरेका छन् ।एउटाले जे गर्‍यो अर्कोले त्यही गर्नुपर्ने। अनुसरण गरेपनि सकारात्मक कुराको गर्नु नि ! अब त आफैँ केही गर्छु र सिर्जनशील सिकाइमा लाग्छु भन्ने विद्यार्थीले मानवअधिकार हननको कुरा उठाउने बेला भैसक्यो । बच्चाले बुझेको कुरा शैक्षिकव्यापारीहरू कहिले बुझ्ने होलान् ? कसैले कतै टाइ लगाएको देख्यो र यस्तै झुण्ड्याए भव्य देखिने ठानी आफ्नोमा लगायो । त्यस्तै गरे संसार जितिने अर्को प्रायोजितले ठान्यो । सरकारी उर्दी नै ल्याइयो र समानताको नाममा विदेशी परिधानको घण्टपोष सबैलाई भनियो । खोइ त समानता ? वैचारिक विभेद, साँस्कृतिक विभेद, वैधानिक विभेद, सारा बेथिति त यतिखेर पो थपिएको देख्तैछु म । एउटाले के ईश्वरी भने अरूले त्यही ईश्वरी नभनी विद्यलय नै नचल्ने ठान्यो । सबैले शिशुकक्षा सब उनैको नाममा भेट गरेका छन् । आफ्नो शिक्षानीति छैन कि स्थानीय शैक्षिक मानक नभएको हो कि । अहिले सबैले परीक्षा चलाएका छन् । खाली परीक्षा ! खाना चैँ नखुवाइ आचीमात्रै गराएर बेर्नु निस्कनुबाहेक के हुन्छ र ? बच्चाको बेर्नु निकालेर उल्टै पैसा मागेको त अति नै ज्यादाती हो । सबैलाई न्यायको कठघरामा ल्याउनुपर्ने हुनसक्छ है, सावधानी रहोस् !

ए अनि कतिपय टिचर चैँ झर्को मान्ने रान् ! परीक्षामा बस्यो, कपी जाँच्यो तर पैसा गुम् । एक त परीक्षा चलेको बेला अतिरिक्त कक्षा छैन भन्दै खल्ती घटाउने अर्कोतिर कपी जाँचेको पैसो नपाइने । के-कति उठ्ती सबैलाई थाहाहुने अनि सोअनुसार बाराबुझारथ नहुँदा डाहाहुने अरे ! यस्तो मानसिकताले फेरि कक्षा भैहाले त्यो टिचरले के पढाउने कसरी पढाउने ? घाँस नपाउँदा गाईले त गोठालो नभनी दूध लुकाउँछन्, यी स्कुलेहरूले के गरेको होला ? काम गरेको दाम त दिनु नि !

आवाजहरू एकपछि अर्को गर्दै आएका छन् र समस्याकेन्द्रित छन् । बिरालाको घाँटीमा घण्टी झुन्ड्याउने किस्सा अन्तर्मनमा रहेको भानहुन्छ ।

होइन, हाम्रो विद्यालयमा त अतिरिक्त कक्षा सबैलाई अनिवार्य छैन नि ! खाना पनि हाम्रो आफ्नै खाने हो । नियमित शुल्कमै पढाइ छ । वर्षमा एक पटक स्थानीय सिपकेन्द्र अवलोकन भ्रमण गराइन्छ र एक पटक वनभोज । अनि तपाईंहरू किन बोल्नुहुन्न त त्यस्तो गुनासोमा ? नयाँ मेयर छन् अरे नि, उनैलाई सुनाउनु नि, ठ्याक लाइहाल्लान् कि !

अलिक फरक आवाज आउँछ । यताउतिका नजर यिनै वक्तातिर पर्छ । एक प्रकारको सन्नाटा चल्छ ।

आ ! खुलेआम बुझिने कुरालाई व्यक्तिगत खतरा किन पार्नु ।आफ्नो क्षेत्रमा व्याप्त समस्या सबै नाइकेले बुझेकै हुन्छन् नि ! चाहे भने गर्ने हुन् क्यार ! तर त्यस्तो उल्लेख्य कामगर्ने नेत्रित्व त सायद सम्भव छैन । राजनीति अन्तै गैरहेको छ । तैँ चुप मै चुप हामी पनि । लिनेले शीर्षक मिलाएर लिएकै छन् । हाम्रो क्षेत्रका अभिभावक संघका अध्यक्ष नै चारवटा पाठशालाका साहु हुन्। एकातिर नियमितबाहेकको शुल्क लिनुपरे सहमतिमा गर्नुपर्ने भनी शैक्षिक मञ्चमा सूचना निकाल्छन् अनि अर्कातिर उनकै पाठशालामा सबै विद्यार्थीलाई सहमति गरेको पत्रमा जबर्जस्ती सही गराउँछन् । माग गरेका विद्यार्थीलाई मात्रा अतिरिक्त कक्षा लिएको र सोहीअनुसारको सामान्य शुल्क थप लिने गरेको मिडियामा खोक्छन् । सम्बन्धित निकाय त यस्ता कुरामा मौन छ। हुँदाहुँदा मिडियाका पनि पो नेताको कुरो कति सत्य हो कति अन्यथा भनी स्थलगत अध्ययन र जानकारीमा जाँदैनन् । अति छ ! भनीसाध्य छ र ?

यस विचार टिपोटका पङ्तिकार आफूलाई गाडीचालकका रूपमा राख्छन् र यात्रुका मनोदशाको संक्षेपीकरण गरी सोसम्बन्धित केही सुझाव सम्बन्धित निकायमा पुर्याउने पहल गर्छन् ।

-एस्ईई परीक्षाअघि लिइने एक्कादुई ल्याकतजाँचबाहेक चलनमा ल्याइएको धाराबाहिक परीक्षाको खेला बन्द गरियोस्, गराइयोस् !
-परीक्षामा सार्ने होइन लेख्ने-बोल्ने कुराको अवस्था सुनिश्चित गरियोस् यानि मर्यादित परीक्षा प्रणालीको व्यवस्था होस् !
-तोकिएको शीर्षकमा उठाइएको रकमअनुसार तोकिएको (वा, भए सम्झौताबमोजिमको) सुविधा उपलब्ध गराए-नगराएको निगरानी होस् !

  • -९० प्रतिशतजति विद्यालयमा जबर्जस्ती चलाइने अतिरिक्त कक्षाहरू बन्द गरिऊन् र नियमित शुल्कको उपादेयता सुनिश्चितताको पहल होस् !
    -विद्यार्थीको स्वतन्त्र अध्ययन अनि स्वाध्यायनको समयाधिकारमाथि लगाम लाउने प्रव्रित्ति नियन्त्रण गरियोस् !
    -शिक्षा अनि स्वास्थ्यजस्तो जनसरोकारका आधारभूत क्षेत्रमा निशुल्क पहुँचको कानुनी बाटो सुनिश्चित गरियोस् !
    -शिक्षकवर्गमाथि हुनेगरेका घात-प्रतिघातको न्यायोचित सम्बोधन गरियोस् !
    -सिर्जनशील तथा प्रयोजनपरक शिक्षामा जोड दिइयोस् अनि नवशिक्षामा लागेकाहरूलाई प्रोत्साहित गरियोस् !
    -सेवामूलक क्षेत्रमा व्यापारको मनोमानी तथा भ्रष्टाचारजन्य प्रव्रित्तिको नियमन होस् !
    -प्रारम्भिक तथा आधारशिक्षा बिग्रिए समग्रतामा देशको शैक्षिक उन्ननयनमा बाधापुग्ने हुँदा स्तरीय शिक्षाको आधार दर्बिलो बनाइयोस् !
    -स्थानीय निकायले सूचना निकाल्नेगरेको तर उचित व्यवस्थापन, अनुगमन अनि नियमनमा तदारुखता नअपनाएको सच्याइयोस् !
    -शिक्षाजस्तो नैसर्गिक जनाधिकारको कुरोमा राज्यको प्रभावकारी उपस्थिति र भूमिका सुनिश्चित गरियोस् !
  • लेखक नारायण नेपाल अध्यापन पेशामा छन् । साहित्यिक एवम् समसामयिक विषयमा कलम चलाउँछन् ।

प्रकाशित मिति: ३ चैत्र २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com