- डा. विवेक घिमिरे/आलेख
कुनै बेला पनि साइरन बज्न सक्छ – “अनि त्यो बेला लुक्ने ठाउँ हो”, यो संगैका साथीले भनेका थिए । इजरायल पुगेको हप्ता भएको थियो, रातको लगभग १ बजे सेरोफेरो ठुलो आवाजमा साइरन बज्यो अनि त्यही लुक्ने ठाउँ कुदेर पुगियो जसलाई बंकर भनिदो रहेछ ।
सुरुमा डर पनि लाग्यो तर बिस्तारै डर भाग्यो अनि आकासमा रकेट हेर्दै रमाइलो पो लाग्यो, मानौ तिहारमा जस्तै झिलिमिली । अब प्रसङ्ग बदलौँ ।
***
भूगोलको हिसाबमा नेपाल भन्दा ७ गुणा सानो राष्ट्र इजरायल जन्मेको ७५ बर्षमा नै प्रविधि, खोज र अनुसन्धान, सैनिक शक्ति र आर्थिक रूपमा बिश्वको आठौं शक्तिशाली मुलुकको रूपमा रहेको छ । यो राज्य यो दक्षिणपूर्व भूमध्य सागरको पूर्वी छेउमा स्थित छ । यसको उत्तरमा लेबनान, पूर्वमा सिरिया र जोर्डन, दक्षिण पश्चिममा इजिप्ट छ ।
विश्वभरि छरिएर रहेका यहूदीहरूले दासका रुपमा पाएको दुख, दोस्रो विश्व युद्धको समयमा भएको ६०-७० लाख यहुदीहरुको नरसंहार पछि उत्पीडनबाट बच्नका लागि भागेका यहूदीहरू आफ्नो पुर्खाको थातथलो खोज्दै तत्कालीन राष्ट्र प्यालेस्टाइन पुगे र आफ्नो स्थानको खोजी गर्न थाले । त्यसरी फर्किनेहरूमा पोल्याण्ड, इजिप्ट, जर्मन, अस्ट्रिया, रसिया, हंगेरी, इरान, टर्की, बुल्गेरिया, यमन, चेकोस्लोभाकिया, मोरक्को, फ्रान्स, इटाली आदि देशहरुबाट रहेका थिए । फर्किनेहरू धेरै जसो होलोकास्टबाट बाँचेकाहरू पनि थिए ।
उक्त भूमिमा अल्पसङ्ख्यक यहूदी र बहुसङ्ख्यक अरबीहरू बसोबास गर्थे । प्रथम विश्व युद्धमा मध्य पूर्वमा शासन गरिरहेको ओटोमन साम्राज्य पराजित भएसँगै ब्रिटेनले प्यालेस्टाइन क्षेत्र आफ्नो नियन्त्रणमा लिएको थियो । त्यसपछि यहूदी र अरबीहरूबीच अनि ब्रिटिश शासन विरुद्ध हिंसा बढ्न थाल्यो ।
सन् १९४७ मा संयुक्त राष्ट्र सङ्घमा प्यालेस्टाइनलाई विभाजन गरी यहूदी र अरब राज्यका रूपमा स्थापित गर्ने विषयको पक्षमा मतदान भयो । त्यो योजनालाई यहूदी नेताहरूले स्वीकार गरे तर अरब पक्षले भने त्यसलाई अस्वीकार गर्यो । समस्या समाधान गर्न नसकेपछि ब्रिटिश शासकहरू सन् १९४८ मा बाहिरिए । त्यसपछि १४ मे १९४८ मा यहूदी नेताहरूले इजरायललाई प्यालेस्टिनी क्षेत्रबाट स्वतन्त्र घोषणा गरी इजरायल देशको स्थापना भएको घोषण गरे । त्यो घोषणामा हस्ताक्षर गर्ने पहिलो व्यक्ति थिए डेव्हिड बेन-गुरियन र उनी नै इजरायल देशको संस्थापक र पहिलो प्रधानमन्त्री पनि रहे । उनी कट्टर यहूदी राष्ट्रवादी नेता थिए ।
बहुसंख्यक यहुदी जनसंख्या रहेको यो देश संसारको एक मात्र यहुदी राष्ट्र हो । तत्कालीन समयमा इजरायलसँग सम्बन्ध गाँस्नु चुनौतीको काम भए पनि नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको सरकारले इजरायललाई राष्ट्रको मन्यता दिदै सन् १९६० जुन १ तारिखका दिन नेपाल–इजराजयलबीच दौत्य सम्बन्ध स्थापना गरेका थिए । यसरी मान्यता प्रदान गर्नेमा नेपाल दक्षिण एसियामा पहिलो राष्ट्र हो ।
सन् १९६३ सेप्टेम्बरमा इजरायलका राष्ट्रपति जाल्मन साजारको निमन्त्रणामा राजा महेन्द्रले इजरायलको एक साता लामो राजकीय भ्रमण गरेका थिए। सन् १९६६ मार्चमा नेपालका राजा महेन्द्रको निमन्त्रणामा इजरायलका राष्ट्रपति जाल्मन साजारले नेपालको एक साता लामो राजकीय भ्रमण गरेका थिए। साजारले सोही नेपाल भ्रमणका सिलसिलामा राजा महेन्द्रद्वारा रचित कृति “A Garland of Verses” हिब्रू भाषामा अनुवाद गरी उपहार स्वरुप राजालाई प्रदान गरेका थिए। राजा महेन्द्रको उक्त कृति राष्ट्रपति साजार आफैले हिब्रु भाषामा अनुवाद गरेका थिए। सन् १९६५ मा तेल अविव इजरायलबाट प्रकाशित उक्त हिब्रू अनुवाद साजारले दुईबीचको मित्रताको प्रतीक स्वरूप राजालाई हस्तान्तरण गरेका थिए। यसरी एउटा मुलुकको राष्ट्राध्यक्षको एउटा कृतिलाई अर्को मुलुकको राष्ट्राध्यक्षले अनुवाद गरेको सायदै अरु कुनै उदाहरण होलान् । सन् १९७२ मा राजा महेन्द्रको निधनमा इजरायलका राष्ट्रपति जाल्मन साजारले दिएको शोक सन्देशमा समेत दिवंगत राजा महेन्द्रको कृति आफूले अनुवाद गरेको स्मरण गर्दै आफूले एक असल मित्र गुमाएको उल्लेख गरेका थिए।
सानो भूगोल जसमा ६०-६५% मरुभूमि, लगभग शून्य बराबर प्राकृतिक स्रोत (खनिज र खानेपानी), लगातार छिमेकी देशहरुसंगको तनाबका बीच इजरायल आफ्नो देशलाई बचाइरहेका मात्र छैनन् सानो तर शक्तिशाली मुलुकको परिचय बनाएका छन् । तत्कालीन जर्मन शासक हिटलर र उनका सेना (नाजी) हरुबाट यहुदीहरुले पाएको यातना, सडक, गल्ली गल्लीहरुमा हुने भौतिक आक्रमण, त्यसमाथि केहीलाई कनसन्ट्रेसन क्याम्पमा लागि मारिन्थ्यो सो घटनालाई कुनै शब्दले बताउन सकिदैन सायद फेरि कहिल्यै त्यस्तो नहोस भनेर हाल विश्वोभरि यहुदीहरुले होलोकास्टको तितो यथार्थलाई जान्नुपर्छ, बुझाउनुपर्छ भनेर हरेक बर्ष जनवरी २७ का दिन “होलोकास्ट रिमेम्बरेन्स डे’ (यहुदीहरुको हत्या गरेको दिनको सम्झना) मनाउने गर्दछन् ।
स्थापनापछि इजरायल र प्यालेस्टाइन बीच कैयौँ तनाव छन् र पटक पटक युद्ध भइरहन्छ । लडाई, तनाव र झगडाको बिच स्थापनाको ५०-६० बर्षमा नै शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, सैनिक शक्ति र आर्थिक रूपमा गरेको उल्लेखनीय प्रगतिले इजरायल अहिले विकशित देशको रूपमा रहेको छ । त्यही लडाईको बिचमा इजरायलले खोज तथा अनुसन्धान गरेर आधुनिक हात हतियार उत्पादन गरी अरु देशलाई बेचेर देशको कूल आम्दानीको मुख्य हिस्सा बनाएको छ । जबकि नेपाल देश ऐतिहासिक मात्रै नभएर प्राचीन पनि हो । यहीनिर हो नेपालीले सिक्नु पर्ने, सनातन देखिको देश त्यसमा पनि राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले एकीकरण गरेको मितिबाट पनि २६० बर्ष भन्दा धेरैको इतिहास बोकेको तर हामीले विश्व मानचित्रमा चिनिने र देखिने गरी प्रगति त परको कुरा हाम्रो शिक्षा सामान्य मानिसको दैनिक जीवनयापनको आधार खडा पनि गर्न नसक्ने अवस्थामा पुगेको छ । हातमुख जोड्न पनि विदेश जानु पर्ने बाध्यतामा आइपुगियो ।
जब देश नभएका यहुदीहरुले सानो देश बनाए, भाषा बचाए, संस्कृति जगाए अनि जन्मेको ७५ बर्षमा नै शिक्षा, प्रविधि, खोज र अनुसन्धानमा ढूलो फड्को लगाए । अब्बल चेतना र प्रविधियुक्त दिमाग, खोज र विकासलाई ध्यान दिएको कारण हालसम्म १४ जना इजरायलीहरुले नोबेल पुरस्कार प्राप्त गरेका छन् भने विभिन्न विधामा गरेर २१२ जाना यहुदी जातिले नोबेल पुरस्कार प्राप्त गरेका छन् I यो नोबेल पुरस्कार पाउनेमा २२ प्रतिशत हिस्सा उनीहरुको रहेको छ, जब कि यहुदी जाति विश्वो जनसंख्यामा लगभग ०.२ प्रतिशत रहेका छन् ।
यहुदीहरूको समाज परिपक्क भैसकेको छ, तर हाम्रो नेपाली समाज आर्थिक, उत्पादन प्रणाली, सभ्यता, संस्कृति, समाजको वस्तुगत बनोट, त्यसको चिन्तन प्रणाली आदिका कारण काचो नै देखिन्छ । यसकारण हामीले संसारबाट सिक्नु पर्ने राम्रा कुरा धेरै छन् जसमा इजरायल र इजरायलीबाट मनन गरी सिक्नु पर्ने मुख्य कुरामा हरेक नागरिकले देशप्रति गर्ने माया, राष्ट्र, भाषा, इतिहास, सभ्यता, संस्कृति, धर्मप्रतिको सम्मान र त्यही गौरबपूर्ण मजबुत जगमा टेकेर गरिने बिज्ञान र प्रविधिको विकास नै हो ।
अन्त्यमा संसारभर जहाँ भए पनि हरेक नेपालीले शिर उठाई बाँच्न आफ्नो इतिहास, आफ्नो भाषा, आफ्नो भेष अनि सबैभन्दा माथि आफ्नो देश चाहिन्छ भन्ने मन्त्र आत्मसात गरी ईमान्दार भएर दुई छिमेकीको बीचमा शान्ति र सुरक्षा कायम राखी आफ्नो विकासको मार्गचित्र कोर्नपर्ने भइसकेको छ । शान्ति र समृद्धिको लागि नेपाली सेना र अन्य सुरक्षा दस्ताहरुलाई आधुनिक रुपमा पनि सशक्त बनाउनु पर्दछ । अझ हरेक नेपालीले आधारभूत सुरक्षा तालिम लिनु स्वयं व्यक्ति र राष्ट्रको जीवनलाई पनि फाइदा पुग्दछ । विश्वोबाट सिक्दै आफ्नो बाटो नलिने हो भने यो राष्ट्र रहन दिनेछैनन, नेपाली जाति रहने छैन, रहे पनि त्यसको अस्तिस्व हुने छैन ।
प्रकाशित मिति: १० चैत्र २०८०, शनिबार
प्रतिक्रिया