• अध्यापक- नारायण नेपाल, सुनसरी/काठमाडौं


जको वैश्विक चर्चाको केन्द्रमा रहनेगरेका अनेकन विषयमध्ये हतियारनीति प्रमुख मान्नसकिन्छ । यो हतियार उत्पादन गर्ने, सोको बेचबिखन गरी सम्पत्ति कमाउने खडुस नीति हो ।

अरूलेभन्दा चोटिलो प्रहार गर्ने, निशाना सटीक लगाउने, टिक्ने र बिक्ने हतियार हतियारनीतिवालाको ध्यावन्ती बन्नेगरेको यस पङ्क्तिकारको ठम्याइ छ । र, यसैको छद्म धरातलमा युद्ध झोसिन्छ।

धेरैजसो युद्धको सुरुवाती कारण हतियार नीतिलाई नै मान्नेगर्छन् । युद्ध कुनै देशभित्र हुनसक्छ, देशबाहिर हुनसक्छ । देशभित्र एक जाति र अर्को जातिमा वैमनस्य रोपेर गराइन्छ र अराजकताको नाटकीय स्वरूप पैदा गराइन्छ । नपाए एकै जातिमा पनि रङ्ग तथा वर्ण अनि तहजस्ता कुरामा खोचे थाप्ने कुनीति फरक कौशलका साथ सम्पादन गरिन्छ र कोक्कोहोलो सिर्जना गराइन्छ । वैमनस्यको बीजारोपण गर्ने र कलहको मलजल गरी एकअर्का विरुद्ध हतियार चलाउनेसम्मको अवस्था सिर्जना गरिन्छ र व्यापार कायमै राखिन्छ । मिलेर बसेका जातजातिलाई जथाभावी कानफुकेर उक्साउने समूह वैदेशिक हण्डी खाएरै समाजमा परिचालित रहेको बुझिन्छ ।

यसै क्रममा, एक देशको अर्को देशसँगको हिमचिमलाई अन्यथा व्याख्या विश्लेषण गरिने यथार्थ छर्लङ्ग छ र जुनसुकै हदसम्म गएरपनि द्विदेशीय वा बहुदेशीय युद्धलाई प्रश्रय दिइन्छ । यस्तो अवस्था नरहनेमा त्रुटिपूर्ण सम्झौताहरू गरिन्छन् र गराइन्छन् ताकि युद्धको बहाना कुनै न कुनै तवरमा साकार होस् । मान्छे मरून्, जातिगत सफाया होस्, देशको सीमा बिथोलियोस्, होस् जे हुनेहो तर हातहतियारको प्रयोग होस् र व्यापार अझ बढोस् । आफूविरुद्ध सो अस्त्र-शस्त्र प्रयोग नहोस् तर अन्य देशमा शान्ति नहोस् । कलहका सम्बाहकहरूलाई निश्चित लाभका बिचौलिया आक्का बनाएर कूटील कमाइ र मुनाफाको हकदार आफू रहिरहियोस् । शक्ति, पैसा, र पहुँचको कस्तो खेल ?

सबैजसो देशमा युद्धको छायाँ अनि धङधङी रहनेगरेको तितो यथार्थ छ । हाम्रामा जातजाति भड्काउ अभियान नै चलाइने गरिएको छ । भएका धर्मसंस्कारलाई अन्यथा व्याख्या गरीगराई आगन्तुक मतको प्रसारमा ठुलै शक्ति लागिरहेको भेटिन्छ । साम्प्रदायिकता उछालेर उखपात छ । तरपनि अधिकांश जनताको सोचव्यवहार र चेतनास्तर सकारात्मक रहेकाले एकता र शान्तिमा त्यस्तो अप्ठ्यारो आइसकेको छैन भनिन्छ । अमेरिकामा काला जातिको आक्रोस बेलाबेला उठ्ने गरेपनि सञ्चारमाध्यमले दबाउने गरेको बुझिन्छ । त्यहाँका मिडियाहरू विदेशी चासोमा बढी व्यस्त भेटिन्छन् ।

बेलायतमा एसिअन मूल र अफ्रिकन खेमाका मानिसलाई हेप्नेगरिएको जगजाहेर छ । यमनमा ईस्लामिक सम्प्रदायको विभेद प्रचार गरिन्छ । भारतमा आसाम र मणिपुरका अवस्थालाई अन्यथा बोक्ने विदेशी शक्ति नै चाइनामा मानवअधिकारको समस्या देख्छ । समस्या नभएको होइन तर कुन प्रसङ्गमा कुन समस्या उजागर गर्ने र त्यस्ता समस्या निवारण तथा न्युनिकरणमा यथोचित मानवीय हल के हुने भन्नेजस्ता कुराले माने राख्छन्।

पृष्‍ठभूमि जेसुकै दिइएपनि र जुन नामको लेप दलेपनि हतियारव्यापारीहरू आफ्नो उत्पादन अकन्टक राख्न र मुनाफा एकत्रित गर्नमात्र बाँचेका छन् भन्ने जनमानसको बुझाइ छ र यिनका करतूतले अधिकांशत: निहत्था अनि शान्तिप्रत्याशी समूह तथा राष्ट्रहरू सधैँ नै पिरोलोमा रहनेगरेको अवस्था सोचनीय भैदिन्छ। जथाभावी कमाउ नीतिले प्रकृतिको श्रोत दोहन गर्ने अनि सुन्दर धराधाम ध्वस्त पार्ने आणवीक अस्त्र निर्माण र प्रयोगसमेतको पराकाष्ठाले सम्पूर्ण जीव तथा वनस्पतिको सन्तुलनसमेत धराप पर्दै गएको बुझेर यस्तो कदम नसच्याए कार्य-कारणका कारकहरूको पनि विनास निश्चित रहेको भन्नेगरिन्छ। फेरि, युद्ध पृय जनमनको छनौटको विषय कदापि नरहेको सर्वविदितै छ । यसर्थ, सावधानीका साथ शान्तिको नीति र सद्भावसहितको जीवनयापनमा सम्बन्धित सबै लागिपर्नुको विकल्प नभएको बुझ्न कतै कसै विलम्ब नभैजाओस् । सही मानेमा सुमतिको चाहनासहित सबैमा नयाँ वर्ष २०८१ को शुभकामना ! अस्तु !

  • लेखक नारायण नेपाल अध्यापन पेशामा छन् । साहित्यिक एवम् समसामयिक विषयमा कलम चलाउँछन् ।

प्रकाशित मिति: २ बैशाख २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com