मानव सभ्यतासित जोडिएर आउने गरेको बलियाको शक्तिसाँध्ने पाटो युद्ध बन्ने गरेको छ । राज्य-राज्य, सरकार-सरकार, समाज-समाज तथा अन्य समूहका सैनिक, अर्धसैनिक वा भाडाका लडाकुका विच सशस्त्र चल्ने संघर्षलाई युद्ध भन्नेगरिएको छ । यसमा अन्तरिक्ष दस्ता तथा विद्युतीय रणनीति पनि थपिएर आएको पाइन्छ । युद्ध खुलेआम तथा छापामार यानि छद्मी तवरले लडिन्छ र लडाइन्छ । यसमा व्यापक हातहतियारको प्रयोगले हिंसा, विनाश अथवा मृत्यु सङ्गै रहने यथार्थले प्राणीमा व्यापक त्राश थोपरिने हुन्छ । यसरी विभिन्न अश्त्रशस्त्रको प्रयोग गरी गराइ शान्ति खल्बल्याउने मानवसभ्यताको अमानवीय कार्यका रूपमा युद्धलाई अर्थ्याउने गरिन्छ ।

 

जङ्गलयुगीन जीवनशैलीमा जसले अर्को मार्छ र आफु बँचेर मोजगर्छ भनिन्थ्यो, रहेछ । पछि उब्जाउ जग्गा कब्जागर्ने अनि सम्पत्ति जोहो गर्नथालिएकामा जोडजाम सम्पत्तिको लागि झगडा गर्ने प्रवृत्ति सुरु भएको बुझ्नसकिन्छ । जीविकोपार्जनका लागि चलाउने औजार, पशुपन्छी मार्नेले त्यसकार्यका लागि चलाउने हतियार मानवले एकअर्काविरुद्ध चलाउने गरे । कालान्तरमा हतियारको उत्पादन, प्रयोग र व्यापकता बदलिँदै आयो र ढुङ्गादेखिको हातहतियारको स्वरूप आणविकता छुँदै प्रकाशप्रविधिसम्म आइपुगेको यथार्थ छ । हातहतियारमा आएको विविधता तथा बदलावसितै स्वचालित सश्त्राश्त्रसमेतको प्रयोग हुनथालेबाट युद्धको तरिका बदलिएको छ र यसबाट पर्ने असरको दायरा पनि बढेर गएको छ ।

युद्धसँगै नारामा राखिने उपभाष्यमा पर्नेगरेको विद्वत्तासाँध्ने विषय भने ‘शान्ति’ हो भन्नसकिन्छ । युद्धको न्युनिकरण तथा अन्त्यका लागि यो शब्दको प्रयोग व्यापकतामै पाइन्छ । हरेक धर्मको मूल तत्त्व यही शब्दको फेरोमा ल्याएर बाँध्नेगरिएको छ र यही शब्दको नाडीमा विभिन्न क्षेत्रीय तथा वैश्विक मर्मका नामधारी संस्थाहरू स्थापित छन् । तर, प्रयोजनविहिन यो पद एकादेशको कथाको हराएको पात्रजस्तो भएको छ । यस्तो लाग्नेगरेको छ मानौँ ‘शान्ति’ आज कसैको नाममात्र हो र यो अहिंशा र सामाजिक न्यायको द्योतक होइन । व्यवहारमा अनुसरणसुलभ नरहने कतिपय यस्ता बिषयहरूसुनी रमाइलो मानिनेगरेको अवस्था विडम्बनापूर्ण छ । तितोसत्य साझा गर्नैपर्छ आफ्नो प्रभुत्व बनाउने र अन्यलाई कजाउने केही राष्ट्र र सरकारपोषा सैन्यन्त्रहरू नियोजित रूपमा युद्ध लड्ने गर्छन् र आतङ्कको सम्बाहक बनेर बहुरूपि पाराले कारक र कारणको झेल गर्दै भिडेका नजीर प्रशस्त भेटिँदाछन् । यसैलाई रोजीरोटी बनाएर हिँड्ने र भिड्ने भिडाउनेसित शान्तिका अनुयायीहरू इन्तुनचिन्तु हुनेगरेका घटनापरिघटनाले पुष्टि गर्दाछन् । क्याटालोनिया स्वतन्त्र हुन नपर्ने, आयरल्याण्ड अलग हुन नपाउने अनि तिनै प्रभावका राष्ट्रहरू अन्य देशको मेलमा खेल गर्नेगरेका तथा स्वतन्त्रताको अन्यथा व्याख्या गर्दैरहेका भित्री कथा अनेक छन् । आफू जुट्तैरहेको र अरूलाई फुट्मा राख्नेगरेको अनमेलको तिकडम बुझिएकै छ र अझ बुझ्नुपरेको छ । पश्चिमा देशले इजरायललाई सेना र हतियार दिएर विरोधी खेमालाई दबाउन भनेको अनि अन्तर्राष्ट्रिय मञ्चमा शान्तिका लागि इज्रायललाई अपील गरेको समाचार द्वैध चलनको एक पछिल्लो उदाहरण मान्नसकिन्छ । युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र दिने र आत्मरक्षा गर भन्ने अनि रसियाको भूमिविरुद्ध त्यस्तो हतियार प्रयोग नगर्न भनिएको समाचार पनि उस्तै । यसरी शान्तिका लागि युद्ध गर्ने भाष्य एकातिर छ भने आफ्नो अधिकारका लागि युद्धसम्मको सामना गर्नुपर्ने सुझाव हरभित्ताहरूले प्रत्यक्ष र परोक्ष जनाइरहेकै भेटिन्छन् । युद्धले शान्ति स्थापित गर्छ भने एक पटक सबै गतिलो युद्ध गर्न तयार हुनुपर्ने सर्वसाधारणको बहुमना तर्क पनि यदाकदा कानसम्म ठोकिनेगरेको सान्दर्भिक मान्नसकिन्छ ।

न्यायनामी अनि शान्तिगामी व्यक्ति तथा संस्थाको कारोबारले जेजसो सङ्केत गरेपनि युद्धको उपस्थिति कम भैरहेको अनुभूति धेरैमा नभएको बुझिन्छ । श्रोतहडप, दमनको हठ, प्रभुत्ववादको आत्मिकरण, सामरिक सोचको अपव्याख्या र उपलब्ध सैनिक शक्तिको जथाभावी प्रयोगले युद्धलाई बढावा नै दिइरहेको अवस्था छ । जातिय सफायाको षड्यन्त्रमूलक योजन बग्रेल्ती बताउनसकिने अवस्था विद्यमान छ पनि । प्यालेस्टिनीलाई यहुदीका हातबाट सिध्याउन गरिँदैआएका प्रपञ्च, रुमानीलाई अजरबैजानीले लखेटेका प्रसङ्ग आदिबारे पनि सोच्नैपर्ने अवस्था छ । पौराणिक युद्धका झिल्काहरू झोस्ने काम एकातिर जारी छ भने अर्कोतिर आधुनिक वर्चस्वका नाम यूद्धपिपाशुहरू विभिन्न बहाना र स्वरूपमा युद्ध मञ्चनमै अनवरत खिटिँदाछन् । कौरव र पाण्डवविचको युद्ध, एथेन्स र ट्रोयको युद्ध, फारसी-युनानी युद्ध, नवौं शताब्दीतिर र मध्ययुगताका युरोपियनले मचाएको धार्मिक अतिवादको एकतर्फी युद्ध, उपनिवेशकालको सुरुदेखि अन्त्यसम्म मचाइएका नरसंहारका घटना, अफ्रिकामा थोपरिने जातिय टकरावको नाटकीय पृष्ठपोषण आदिसहित जथाभावीको ध्रुवीकरणले निम्त्याएको पहिलो विश्वयुद्ध र यसैको दोस्रो मञ्चन सम्झनाले मात्र पनि सर्वसाधारण जनमा पीडा हुनेगरेको सोचनीय छ नै ।

यसै क्रममा अहिले चलिरहेको युद्धको धुवाँ लगभग सातै महादेशमा फैलँदो छ । एसियाको प्रसङ्गमा चीन अनि भारत, भारत अनि पाकिस्तान, चीन अनि फिलिपिन्स तथा जापान एक तरिकाले युद्ध फुक्ने तयारीमा छन् । सबैतिर युद्ध थोपर्दै हिँड्ने युरोपियन र अमेरिकनहरू अहिले आपसी टकरारकै स्थिति भोगिरहेका पनि छन् । भेनेजुएलालाई त्रस्त बनाउने र क्षेत्रीय युद्धको मैदान बनाउने रणनीति बुझिन्छ भने ध्रुवीय क्षेत्र जो सबै देशको समानुपातिक साझा हुनुपर्नेमा तत्कालका बलशाली स्वेच्छचारीहरूले आफूअनुकूल नियम बनाइ हडप्नेखालको कसरतले पनि युद्धकै खाका तयार गर्दैरहेको धेरैको बुझाइ छ । रसिया अनि युक्रेनविचको बारुदी लडाइँ अहिले तेस्रो वर्षमा कुदिरहेको छ भने हमासको क्षेत्रीय आवाजको निहुँमा इज्रायलले प्यालेस्टिनीहरूलाई जथाभावी जातिय सफायाको सिकार बनाइरहेको बुझिन्छ । सामरिक हितको लागि भन्दै नेटोले अन्य राष्ट्रहरूलाई त्राश र आशमा यसको सदस्य बन्न रातोदिन काम गरिरहेको बुझिन्छ भने सोहीअनुसार हातहतियार खरिद र उपभोग गर्नुपर्ने वाध्यकारी अवस्था सिर्जना गर्नेगराउने काम चालु छ भन्दा अत्युक्ति नहोला । नेटोका केही हतियार उत्पादक देशहरूले अरू देशमा यसप्रकार युद्ध चर्चिरहेको प्रष्ट छ । अब यो देशले त्यो देशलाई आक्रमण गर्छ भन्नेजस्ता स्वेराधार फैलाएर डरपरस्त देशलाई आफ्नो खेमामा तान्ने कूटनीतिले नै हो भन्नुपर्छ १२ वटा संस्थापक सदस्य भएको यो सैनिक साझा दस्ता ३२ सदस्यको बनेको छ । यसले गर्दा विपक्षी भाव राख्ने खेमासमेतले टक्करमा रहनुपर्ने गुह्य बोध गरी भित्रभित्रै युद्धसम्बन्धित योजना र नीतिमा व्यस्त छैनन् भन्ननसकिने स्थिति छ । आजको उत्तरकोरिया रसियाको साथ लिँदै लामो दूरी मार हान्नसक्ने क्षेप्यास्त्र बनाइरहेको छ भने चीनलाई पनि झाडीकै सर्पको रूपमा व्याख्या गर्नथालिएको छ । फेरि नेटो सदस्य बन्दैमा शान्तिसुरक्षाको प्रत्याभूति हुने हो भने यसै भित्रका सदस्यविचको मनमुटाव टरेको पनि त देखिएको छैन । जस्तो टर्कीलाई अमेरिकासित लिन बाँकी फाइटर जेट समयमै दिने भनी भावनात्मक व्यापारको नीतिले स्वीडेनजस्ता देशको सदस्यता स्वीकार्न बाध्य पारिएको यथार्थ छ भने टर्कीको ग्रीससितको सम्बन्धमा पनि चिसोपन रहेकै देखिन्छ । त्यस्तै इजिप्टको अहिलेको सरकारलाई पश्चिमाहरूले गरेको समर्थन र सहयोग उनीहरूले अन्यत्र उजागर गर्नेगरेको सिद्धान्तसँग मेला नखाएबाट बुझ्नेहरूले के बुझ्ने र के चैँ नबुझ्ने होला धेरैको चासोको बिषय बन्नेगरेको छ । नाइजरको शान्ति बिथोल्ने को छ ? बुर्किनाफासो लगायतका देशमा किन स्थानीय शक्तिहरू जुर्माउनथालेका हुन् ? अफ्रिकाबाट पश्चिमा भनिएका शक्तिलाई किन पाखा हेल्ने काम भैरहेको छ ? उपनिवेशको उद्देश्य संसार लुट्नेमात्रै रहेछ भनी बुझ्नु अन्यथा टिप्पणी गरिराख्नुपर्ने कुरा हो र ? आखिर यो सब किन ?

चेहरा र चरित्र, नीति र अभ्यास, यथार्थ र कल्पना, यस्ता तत्त्वहरूमा सामाञ्जस्य राखेर सम्पूर्णत: जनहितमा कामगर्ने सरकार सबैको वैश्विक मागको बिषय हुनेगरेको छ । शान्तिविरोधी खेमा र गतिविधि कुनैपनि बहानामा गर्नगराउन नहुने अनि तटस्थ मतको कदरमा जीवन र जगतको भलाइमा लाग्ने सरकार तथा संयन्त्रको विकासमा सम्बन्धित सबै लागिपर्नुको विकल्प नभएको भावसहित वैश्विक शान्तिको शुभकामना ! अस्तु !


  • लेखक नारायण नेपाल अध्यापन पेशामा छन् । साहित्यिक एवम् समसामयिक विषयमा कलम चलाउँछन् ।

 

प्रकाशित मिति: ९ बैशाख २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com