• जनक कार्की / कविता

प्रिय भिड तिमीलाई गौशाला २६ सँग परिचित हुने
उत्कट चाहना छ
होइन ?
निहालेर हेर
गौशाला २६ तिम्रै वरिपरि छिन्
बाह्र हप्ताको गर्भमा
जब लिङ्ग निर्धारणबाट
योनी पहिचानमा आएपछि
जसको एबोर्सन भयो
तिनै हुन्- गौशाला २६
केही ग्राम दाइजो कम हुँदा
जो जलाइएकी थिइन्
आफ्नै श्रीमान र सासुससुराको मिलेमतोमा
तिनै हुन् – गौशाला २६
जो समसाँझैमा हवसको सिकार भएर घामसँगै अस्ताइन्
जसलाई आफ्नै हजुरबाले चकलेट देखाएर जिन्दगीको गुलियो निखारिदिए
तिनै हुन्- गौशाला २६
जसको गोप्य भिडियो आफ्नै प्रेमीद्वारा सार्वजनिक भएपछि
घरको सिलिङ फ्यानमा घुमिरहिन्
जो पत्रकारले नाङ्गो फोटो छापिदिछु भनी ब्ल्याकमेलमा परेर
आफ्नो नाडी काटिन्
तिनै हुन्- गौशाला २६
जसको सुत्केरीमा आराम नपाएर आङ खस्यो
जसको सार्वजनिक भिडमा स्तन घोचियो
जसलाई जागिर खानका निमित्त लजमा अन्तर्वार्ता गरौँ भनेर बोलाइयो
तिनै हुन्- गौशाला २६
धेरै पर पुग्नु पर्दैन प्रिय भिड
तिम्रै वरपर छन्- गौशाला २६
अलिअलि तिम्री आमासँग
अलिअलि तिम्री श्रीमतीसँग
अलिअलि तिम्रा दिदीबहिनीसँग
अलिअलि तिम्रा छोरीसँग
हुबहु मिल्छ- गौशाला २६ को अनुहार ।
अझै पनि हेर्न मन छ गौशाला २६ को अनुहार ?

प्रकाशित मिति: ५ जेष्ठ २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com