काठमाडौँ । अमेरिकामा क्रिकेटको विकासको लागि वकालत गर्दै आएको ‘साथी बाल्टिमोर’ नामक सङ्गठनले क्रिकेटर सन्दीप लामिछानेको अमेरिकी भिसाका लागि दबाब अभियान सुरु गरेको छ।

नेपाल स्थित अमेरिकी राजदूतावासले बुधवार लामिछानेलाई भिसा दिनबाट अस्वीकार गरेपछि साथी बाल्टिमोरले दबाब दिने अभियान सुरु गरेको हो।

साथी बाल्टिमोरले यस अभियानमार्फत सन्दीपको भिसाका लागि दबाब दिन मेरिल्याण्ड राज्यका सिनेटरसँग सम्पर्क राख्ने प्रयास समेत गरिरहेको छ।

“हामी, अधोहस्ताक्षर, सन्दीप लामिछानेलाई टि-२० विश्वकपमा सहभागितालाई सक्षम पार्न अमेरिकाको भिसा प्रदान गर्न सम्बन्धित अधिकारीहरूलाई सम्मानपूर्वक आग्रह गर्दछौँ”, साथी बाल्टिमोरको विज्ञप्तिमा लेखिएको छ।

“सन्दीप लामिछानेलाई टी–२० विश्वकपमा सहभागी हुन नदिने विश्व क्रिकेट समुदायको अपमान हो”, विज्ञप्तिमा थप उल्लेख गरिएको छ । “सन्दीपलाई भिसा दिनु खेलकुद, निष्पक्ष खेल र विश्वव्यापी क्रिकेटको प्रवर्द्धनका मूल्यहरूसँग पङ्क्तिबद्ध हुन्छ भन्ने हाम्रो विश्वास छ । त्यसैले सन्दीप लामिछानेलाई अमेरिकाको भिसा दिन हामी अधिकारीहरूलाई सम्मानपूर्वक अनुरोध गर्दछौँ ।”

बुधवार सन्दीप लामिछानेको अमेरिकी भिसा नेपाल स्थित अमेरिकी राजदूतावासले दिन अस्वीकार गरेको थियो ।

बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट सङ्घले उनलाई नेपाली टिममा समावेश गरेको थियो । अमेरिकाले भिसा नदिएपछि सन्दीप नेपालमै रोकिएका छन् । क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपले सफाइ दिएको फैसलासहित सबै कागजात पेस गरेका थिए ।

तर अमेरिकी दूतावासले भिसा दिन नसकिने बताएको छ । अब उनलाई विश्वकपमा पठाउन सरकारले पहल गर्नुपर्ने क्रिकेट सङ्घका अध्यक्ष चन्दले बताए ।

प्रकाशित मिति: १० जेष्ठ २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com