काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित तीन जनामाथि संगठित रूपमा आपराधिक लाभ लिएको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

बुधबार काठमाडौं जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले प्रसाईं, हरिचन्द्र फुयाल र रामचन्द्र मैनालीविरुद्ध मुद्दा दायर गरेका हुन्। दुर्गा प्रसाईं तारेखमा रहेका छन् भने हरिचन्द्र फुयाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा छन्। अर्का प्रतिवादी रामचन्द्र मैनाली फरार रहेका छन्।

आरोप अनुसार, दुर्गा प्रसाईंले हरिचन्द्र र रामचन्द्रलाई परिचालन गरी भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अन्य व्यवसायीहरूलाई धम्क्याएर रकम असुल्न लगाएका थिए।

सरकारी वकिल कार्यालयले तीनै जनाविरुद्ध सात वर्षसम्म कैद र ७० हजार रूपैयाँसम्म जरिवाना माग गरेको छ। साथै, संगठित अपराधअन्तर्गत थप ५० प्रतिशत सजाय मागिएको छ।

हरिचन्द्रले बयानमा बताएका अनुसार, उनी भारतमा व्यापारका सिलसिलामा रामचन्द्र मैनालीको सम्पर्कमा पुगेका थिए। रामचन्द्रले उनलाई दुर्गा प्रसाईंको मानिसहरूसँग परिचय गराए। उनीहरूले भारतीय मोबाइल सिमकार्ड र धम्की दिनका लागि निर्देशन दिएका थिए।

हरिचन्द्रले व्यवसायी दीपेन्द्र अग्रवाललाई हिन्दीमा धम्क्याएको र यसको बदलामा तीन लाख रूपैयाँ दिने वाचा गरिएको बताए। उनका अनुसार, दुर्गा प्रसाईंसँग फोनमार्फत रकमको विषयमा कुरा भएको थियो।

दुर्गा प्रसाईंले भने हरिचन्द्रसँग कुनै सम्पर्क नरहेको दाबी गरेका छन्। उनले धम्कीको आरोप अस्वीकार गर्दै अडियो प्रमाणमा रहेको आवाज आफ्नो नभएको दाबी गरेका छन्।

प्रकाशित मिति: २५ पुस २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com