काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले नेपालको नाम परिवर्तन गर्दै ‘गोरखा’ राख्न प्रस्ताव गरेका छन्। गोरखा नेपालको ऐतिहासिक एकता र वीरताको प्रतीक भएकाले यो नामले देशको गौरवशाली इतिहासलाई झल्काउने उनले बताएका छन्।
सांसद बजगाईंले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “देशको नाम ‘गोरखा’ राख्नुपर्छ। गोरखा नेपालको ऐतिहासिक एकता र वीरताको प्रतीक हो। यो नामले हाम्रो गौरवशाली इतिहासलाई अझ उजागर गर्नेछ।”
गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बजगाईंले नाम परिवर्तनले मात्र समस्या समाधान नहुने भन्दै जनताको पहिचान र भावनालाई सम्मान गर्दै निर्णय लिनुपर्ने धारणा राखेका छन्।
सांसद बजगाईंले संघीय राजधानी काठमाडौंबाट अन्यत्र सार्नुपर्ने प्रस्ताव पनि गरेका छन्। उनले भनेका छन्, “काठमाडौं सांस्कृतिक अतिक्रमण र अत्यधिक जनघनत्वको समस्याले ग्रस्त छ। यसलाई संरक्षित सांस्कृतिक सहरका रूपमा विकास गर्न राजधानी अन्यत्र सार्न उपयुक्त हुन्छ।”
उनले नयाँ संघीय राजधानीका लागि तुलसीपुर, चितवन, र पोखरालाई सम्भावित स्थानका रूपमा सुझाएका छन्। संघीय राजधानी सारिए काठमाडौंलाई पर्यटक र सांस्कृतिक केन्द्रका रूपमा विकास गर्न सजिलो हुने उनको धारणा छ।
प्रकाशित मिति: २५ पुस २०८१, बिहिबार
प्रतिक्रिया