• प्रमोद भण्डारी

काठमाडौंको एउटा प्रसिद्ध इन्जिनियरिङ कलेज । कलेजको चहलपहल, कफी शपका बहस, परीक्षा नजिकिँदै गर्दा रातभरि जाग्राम बसेर पढ्ने बानी। यी सबैले जीवनलाई गजबको अनुभव दिलाउँथे। यसै भिडमा थिए ‘आरोह’ र ‘मञ्जिला’ ।

मञ्जिला पहिलो दिन कलेज आएकी थिई। सेतो कुर्ता र पाईन्ट, जिन्सको ज्याकेट, अनि काँधसम्म झरेका कपाल। त्यो दिन सबैजना नयाँ विद्यार्थीलाई परिचय दिन व्यस्त थिए। आरोह भने पछिल्ला बेञ्चमा बसेर आफ्ना साथीहरूसँग जोक्स हान्दै थिए। “नयाँ विद्यार्थी आएछन्, कोही राम्री छ कि ?” उसको साथीले जिस्क्यायो।

त्यही बेला मञ्जिला बोल्न उठी । उसको बोल्ने शैलीमा आत्मविश्वास थियो। ‘म’ मञ्जिला। मलाई रोबोटिक्समा रुचि छ। मलाई लाग्छ, नेपाललाई प्रविधिको नयाँ युगमा लैजान युवाहरू नै लाग्नुपर्छ। आरोहको कानसम्म पुगेको थियो त्यो आवाज। ओहो! ‘आत्मविश्वास त गज्जबको छ,’ ऊ आफैँसँग बर्बरायो। दिनहरू बित्दै गए। कलेजमा आरोह एकजना प्रतिभाशाली विद्यार्थी थियो। मञ्जिला पनि पढाइमा अब्बल। उनीहरू कहिलेकाहीँ सेमिनारहरूमा भेटिन्थे।

एक दिन कलेजको रोबोटिक्स क्लबले वर्कसप राख्यो। आरोहले मेकानिकल पार्ट्स सम्हालिरहेको थियो, मञ्जिलाले कोडिङ। ‘यो सर्किट जरा जरा छुट्छ,” आरोहले उसकै तरिकामा भन्यो। मञ्जिलाले हेरी। ‘तपाईंलाई के लाग्छ, म पहिलो पटक गर्दैछु ?’ आरोह अलमलियो। ‘ए, होइन… त्यो मतलब होइन।’ मञ्जिलाले मुस्कुराइन्। यो सानो संवादपछि आरोहलाई मञ्जिलासँग कुरा गर्न सजिलो हुन थाल्यो।

आरोहलाई मञ्जिलाको सोझोपन मन पर्दै गयो। मञ्जिलालाई आरोहको भित्र लुकेको संवेदनशील मन। तर दुवैले मनको कुरा खुलेर भनेनन्। सायद मित्रताको दूरी पार गर्न डर थियो।

त्यसैबीच, कलेज ट्रिप आयोजना भयो। पोखराको बेगनास ताल। मञ्जिला बोटमा चढ्न डराइरहेकी थिई। “चिन्ता नलेऊ, म छु नि,” आरोहले हात बढायो। मञ्जिलाले हिच्किचाउँदै हात राखी। जीवनमा पहिलो पटक यस्तो अनुभव भइरहेको थियो, जस्तो कुनै अदृश्य धागोले बाँधिएको छ।

त्यो क्षण उनीहरूको सम्बन्ध मित्रताको बाटोभन्दा माथि लम्किएको थियो। त्यसपछि उनीहरू पोखराबाट काठमाडौ फर्किए। कलेजको पढाइ निरन्तर चलिरहेकै थियोे। मञ्जिला सुन्दर मात्र थिइनन्, आत्मनिर्भर, आत्मविश्वासी र चतुर पनि थिइन्। उनको जीवन स्पष्ट योजना अनुसार चलिरहेको थियो। पढाइ, जागिर, अनि करियर। जब एकदिन कलेजमा आरोहले उनलाई प्रेम प्रस्ताव राख्यो, उनले नरम रूपमा अस्वीकार गरिन्।

“आरोह, तिमी असल छौ, तर म तिमीलाई प्रेम गर्दिनँ। कृपया, यो कुरा नबुझेसम्म नबुझी बस्नु।”

आरोहले मुखमा हाँसो ल्याए पनि, उसको आँखामा अनौठो चमक थियो। समय बित्दै गयो। मञ्जिलाको विवाह अरू कसैसँग भयो। अर्पण, एक जिम्मेवार, भद्र युवक। उनीहरू सुखी थिए, सन्तानका रूपमा एक छोरी पनि जन्मिइन् – ‘सृष्टि’।

तर, बिहेपछि केही अजीब घटनाहरू हुन थाले। मञ्जिलाले सुरुमा वास्ता गरिनन्, तर उनका वरिपरि अनौठा गतिविधिहरू दोहोरिन थाले। जब उनी राति ऐनामा हेर्थिन्, कुनै बेला आफ्नै प्रतिबिम्ब अनौठो रूपमा हाँसेजस्तो देखिन्थ्यो। घरका विद्युतीय उपकरणहरू आफैं अन हुने – अफ हुने हुन् थाल्यो। उनकी छोरी सृष्टि कहिलेकाहीं एक्लै हाँस्थी। अनि भन्थी— “मसँग अंकल खेल्नुहुन्छ ।”

“कुन अंकल, सृष्टि ?” “ममी, जसले तपाईंलाई धेरै माया गर्नुहुन्छ नि।” मञ्जिलाको मुटु ढुक्क भयो।

एक रात, अर्पण शहर बाहिर गएको थियो। मञ्जिलाले छोरीलाई सुताइन्, अनि कोठामा आइन्। तर, उनको ओछ्यानमा कोही सुतिरहेको जस्तो लाग्यो। डराउँदै बत्ती बालिन्; कोही थिएन।
तर अचानक, ऐनामा आरोहको छायाँ झल्कियो।

“मञ्जिला, तिमी मेरी थियौ। म अझै तिमीलाई चाहन्छु। तिमी अरूको हुन सक्दैनौ।” मञ्जिलाले त्यो कल्पना होला भन्ने सोचिन्। तर, जब अर्पण घर फर्कियो, उसले अनुभव गर्न थाल्यो- उ निदाउँदा नाक थिचेजस्तो हुन्थ्यो, कोही कराउँदै बिउँझाउँथ्यो। “मञ्जिला, यो घर ठीक छैन। हामी अर्को ठाउँ सर्छौं”- अर्पणले भन्यो। तर, अब समय घर्किसकेको थियो।

अन्तिम रात
————-

त्यो रात, सृष्टिले अचानक कराइन्। मञ्जिलाले हेर्दा, छोरी कोठाको कुनामा अडेस लागेको देखी। उसले डराएको स्वरमा भनिन्- “ममी, अंकल रिसाउनुभएको छ। उहाँले तपाईंलाई खोजिरहनुभएको छ।”

अचानक, मञ्जिलाको सास रोकिएझैं भयो। कोठाभित्रको हावाजस्तो मन अचानक भारी बन्यो। ऐना आफैं चर्कियो, बत्तीहरू फ्याट्ट निभे। आरोहको आवाज गुञ्जियो – “अब तिमी मेरी हुनेछौ, मञ्जिला ।” त्यसपछि, मञ्जिला कसैलाई नभनी, बिस्तारै ओछ्यानबाट उठिन्, छोरीलाई माया गरिन्, अनि छतमा पुगिन्। र छतबाट हाम्फालिन्। मञ्जिलाको मृत्यु एउटा रहस्य बन्यो। कसैले भने, उनले मानसिक तनावको कारण आत्महत्या गरिन्। कसैले भने, त्यो घर नै अशुभ थियो।


  • प्रमोद राजनीतिशास्त्र र साहित्यको विद्यार्थी हुन्। उनी समसामयिक लगाएत यावत विषयमा कलम चलाउँछन्।

 

 

प्रकाशित मिति: २६ फाल्गुन २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com