पाँचथर — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारलाई नागरिकहरूमा बढ्दो असन्तुष्टि कम गर्न केन्द्रित हुन आग्रह गरेका छन्। पाँचथरको तुम्बेवा महोत्सव २०८१ को समापन समारोहलाई सम्बोधन गर्दै उनले जनताको चासो र भावनालाई सम्मान गर्ने नीति अपनाउनुपर्ने बताए।
महामन्त्री थापाले वर्तमान समयमा नागरिकहरू आक्रोशित रहेको उल्लेख गर्दै केही व्यक्तिहरूले त्यसमा अझ घ्यू थप्ने काम गरिरहेको टिप्पणी गरे। उनले भने, “चाहिने काम मात्रै गरौं, नचाहिने काम नगरौं। स्थानीय होस् वा संघीय सरकार, जनताको विश्वास जित्न सक्नुपर्छ।”
उनले पछिल्लो समय सरकार राष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायत उच्च पदाधिकारीहरूलाई जीवनभर विशेष सेवा-सुविधा दिने कानुन बनाउन लागेको भन्ने हल्लाले जनतामा असन्तोष फैलिएको बताए। “यस्ता कुराले स्वाभाविक रूपमा जनतामा आक्रोश उत्पन्न हुन्छ। तर, कतिपय विषयमा सरकारले सही समयमा स्पष्ट पार्न सक्नुपर्छ,” उनले जोड दिए।
महामन्त्री थापाले आफ्नो स्वास्थ्य मन्त्रीकालीन अनुभव सुनाउँदै ठूला नेताहरूको विदेशमा उपचार खर्च सरकारले बेहोर्ने परिपाटीलाई गलत ठहर गर्दै संसद्मार्फत कानुन बनाएर रोकिएको स्मरण गरे। “जनताले बुझ्नेगरी सही निर्णय गर्नु सरकारको दायित्व हो,” उनले भने।
प्रकाशित मिति: १ चैत्र २०८१, शनिबार
प्रतिक्रिया