झापा । नेपाल कम्युनिष्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ले मुलुकमा राजनीतिक अस्थिरताको जोखिम गहिरिँदै गएको बताएका छन्।
झापामा केही दिनदेखि समाजवादी मोर्चा तथा पार्टीको गतिविधि सक्रिय बनाइरहेका विप्लवले मंगलबार बिहान बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा हालको परिस्थितिले राजनीतिक दुर्घटनाको सम्भावना बलियो बन्दै गएको बताए।
उनका अनुसार, नेपाल अहिले दुई धारमा बाँडिँदै गएको छ— एकथरी शक्ति २०४७ सालको अवस्थामा फर्किन चाहन्छन् भने अर्को पक्ष मुलुकलाई अझै अग्रगमनको बाटोमा लैजानुपर्ने पक्षमा छ। उनले भने, “धेरै व्यक्ति राजतन्त्रको समर्थनमा उत्रिएका छन्। एकातिर विगतमा फर्किन चाहनेहरूको संख्या बढ्दै गएको छ भने अर्कोतर्फ लोकतन्त्रलाई संस्थागत गर्दै अगाडि बढ्न चाहनेहरूको सङ्घर्ष जारी छ। यस्तो अवस्थामा यदि द्वन्द्व चर्किँदै गयो भने ठूलो राजनीतिक संकट आउन सक्छ।”
उनले विदेशी शक्तिहरूले राजतन्त्र पक्षधरहरूलाई उक्साइरहेको आरोप लगाए। तर नेपाली जनताले गणतन्त्रको बाटो छाड्न नचाहेको उनको दाबी छ। विप्लवका अनुसार, जनताले केवल गणतन्त्र मात्र होइन, नेताहरूको एकाधिकार तोडेर वास्तविक जनसत्ता स्थापना गर्न चाहेका छन्।
प्रकाशित मिति: ४ चैत्र २०८१, मंगलबार
प्रतिक्रिया