काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा रहेको पुँजीवादी व्यवस्थालाई अन्त्य गरी समाजवादी गणतन्त्र स्थापना गर्नुपर्ने स्पष्ट धारणा राखेका छन्।

शनिबार ललितपुरमा समाजवादी मोर्चाद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले अहिलेको व्यवस्था दलाल पुँजीवादको प्रभावमा रहेको भन्दै यसको अन्त्य अपरिहार्य भएको बताए। उनले सामन्तवादी शासनतर्फ फर्किनु अस्वीकार्य रहेको उल्लेख गर्दै न्याय, समानता र समृद्धिको आधारमा समाजवादी गणतन्त्र नै देशको भविष्य भएको दाबी गरे।

Advertisement

“व्यवस्था परिवर्तनको आवाज उठिरहेको छ। अवश्य पनि पुँजीवादी व्यवस्था हटाउनुपर्छ, तर पुनः सामन्तवादी शासनतर्फ फर्किनु हुँदैन। १०४ वर्षे राणाशासन र २४० वर्षे राजतन्त्रकालीन शासनकालमा देशलाई व्यक्तिवादी स्वार्थअनुसार शोषण गरियो। अब तिनबाट पूर्ण रूपमा मुक्त हुन आवश्यक छ,” अध्यक्ष नेपालले भने।

पूर्वराजा ज्ञानेन्द्र शाहप्रति कटाक्ष गर्दै उनले ज्ञानेन्द्रले देश र जनताका लागि कुनै त्याग, तपस्या वा योगदान नगरेको, बरु राज्यको सम्पत्ति लुट्नमै केन्द्रित रहेको आरोप लगाए। “लुट्ने प्रवृत्तिलाई पुनः ठाउँ दिनु इतिहासकै ठूलो भूल हुनेछ,” उनले चेतावनी दिए।

अध्यक्ष नेपालले नेपाली जनतालाई समाजवादी गणतन्त्रको स्थापना गर्न एकताबद्ध हुन आह्वान गर्दै भने, “देशको स्वाभिमान, प्रतिष्ठा र मर्यादा जोगाउन समाजवादी व्यवस्था आवश्यक छ। जनताको हक, अधिकार र समानताको रक्षा गर्न अब समाजवादी बाटोमा अघि बढ्नुपर्छ।”

प्रकाशित मिति: १ चैत्र २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com