काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा पुँजीवादी व्यवस्थाको अन्त्य गर्दै समाजवादी गणतन्त्र स्थापनाको अपरिहार्यता औँल्याएका छन्। शनिबार ललितपुरमा समाजवादी मोर्चाद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले वर्तमान पुँजीवादी संरचना नेपाली जनताको हितमा नरहेको बताए।

उनका अनुसार, मुलुकलाई अब समाजवादको दिशामा लैजानु अपरिहार्य छ। सामन्तवादी व्यवस्थामा फर्किनु अस्वीकार्य भए पनि वर्तमान दलाल पुँजीवादलाई उखेलेर समाजवादी प्रणालीको जग बसाल्नुपर्ने उनको भनाइ छ। “यो देश १०४ वर्षसम्म जहानियाँ शासन र त्यसपछि २४० वर्षसम्म वंशानुगत शासनको कब्जामा थियो। तिनले सत्ता र सम्पत्तिको दुरुपयोग गर्दै शासन चलाए। अब समय बदलिएको छ, हामी समाजवादी गणतन्त्रको दिशामा अघि बढ्नुपर्छ,” नेपालले भने।

Advertisement

अध्यक्ष नेपालले परिवर्तन चाहने सबैलाई अग्रगमनको पक्षमा उभिन आग्रह गर्दै वंशपरम्परागत शासनप्रति निर्मम आलोचना गरे। उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई इंगित गर्दै, “कसैले कुनै त्याग, तपस्या, बलिदान नगरी केवल देश लुट्ने काम गरेको इतिहास बोकेको छ भने, त्यस्तो व्यक्तिको हातमा देश दिनु आत्मघाती हुनेछ,” भने।

उनले देशको इज्जत, प्रतिष्ठा र नागरिक अधिकारको रक्षा गर्दै आधुनिक समाजवादी व्यवस्था लागू गर्नुपर्नेमा जोड दिए। “अब नयाँ सोच, नयाँ दिशा आवश्यक छ। नेपाली विशेषताको समाजवाद नै हाम्रो पार्टीको मार्गचित्र हो,” नेपालले प्रस्ट पारे।

प्रकाशित मिति: १ चैत्र २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com