काठमाडौं । राजसंस्थाको पुनर्स्थापनाका लागि सक्रिय नेतामध्येका एक नवराज सुवेदीले राप्रपा परित्याग गरेका छन्। सोमबार काठमाडौंको डिल्लीबजारमा आयोजित राजावादी मोर्चाको भेलापछि पत्रकार सम्मेलन गर्दै ८६ वर्षीय सुवेदीले अब आफू पार्टीगत राजनीतिबाट अलग रहने घोषणा गरेका हुन्।
सुवेदीले भने, “म आजदेखि राप्रपाको साधारण सदस्य पनि रहन्न। मेरो अबको लक्ष्य मात्र एक छ— राजसंस्थाको पुनर्स्थापना।”
पूर्वराजा ज्ञानेन्द्र शाहका विश्वासपात्र मानिने सुवेदी राप्रपाका वरिष्ठ नेता तथा राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्षसमेत हुन्। पछिल्लो समय राजसंस्थाको पुनर्स्थापनाका लागि सुवेदीको नेतृत्वमा एक छुट्टै मोर्चा गठन गर्ने तयारी भइरहेको थियो। यही मोर्चाले व्यापक राजावादी शक्तिहरूलाई गोलबन्द गर्ने उद्देश्य राखेको छ।
तर, सुवेदीको नेतृत्वमा बनेको मोर्चाप्रति राप्रपाभित्रै असन्तुष्टि देखिएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले मोर्चाको गतिविधिप्रति असहमति जनाएका छन्। सोमबार आयोजित बैठकमा दुवै अध्यक्ष अनुपस्थित रहे। यद्यपि, राप्रपाका अन्य थुप्रै नेताहरू भने मोर्चाको भेलामा सहभागी भएका थिए।
सुवेदीले अबको यात्रामा आफू पूर्ण रूपमा राजसंस्थाको पुनर्स्थापनाका लागि समर्पित रहने बताएका छन्।
प्रकाशित मिति: ३ चैत्र २०८१, सोमबार
प्रतिक्रिया