काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सांसद बिमलेन्द्र निधिले नेपालमा अब कहिल्यै राजतन्त्र नफर्कने दाबी गरेका छन्।
शनिबार जनकपुरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले विभिन्न शक्तिहरूले राजतन्त्र पुनःस्थापना हुनसक्ने भ्रम फैलाए पनि त्यसको कुनै सम्भावना नरहेको स्पष्ट पारे।
“बिभिन्न देशहरूमा राजतन्त्र समाप्त हुँदा राजाहरूको दयनीय अवस्था के भयो भन्ने इतिहासले देखाइसकेको छ। हाम्रा तत्कालीन राजाले आफ्नो सीमालाई बुझ्नुपर्थ्यो,” निधिले भने। “नेपालमा राजतन्त्र केवल समाप्त मात्र भएको छैन, जनताले अस्वीकृत गरिसकेको छ। संसद्ले आधिकारिक रूपमा राजतन्त्रलाई अस्वीकार गरिसकेको छ। राजसंस्था अब नेपालमा कहिल्यै फर्किंदैन। ज्ञानेन्द्र शाह नेपालका अन्तिम राजा भइसकेका छन्।”
उनले गणतन्त्र अब बलियो रूपमा स्थापित भइसकेको उल्लेख गर्दै यसको जग कसैले हल्लाउन नसक्ने दाबी गरे।
“नेपालमा गणतन्त्र कसरी आयो भन्ने बुझ्न जरुरी छ। यसको आधार अत्यन्त सशक्त छ, यसलाई कुनै शक्तिले पनि ढाल्न सक्दैन,” उनले जोड दिए। “केही व्यक्तिहरू नेपालमा राजतन्त्र फर्कियो, फर्कियो भन्दै हल्ला गरिरहेका छन्। तर म स्पष्ट रुपमा भन्छु – नेपालमा राजतन्त्र आउँदैन, आउँदैन, आउँदैन!”
प्रकाशित मिति: ८ चैत्र २०८१, शनिबार
प्रतिक्रिया