काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोमा सरकारको कडा आलोचना गरेका छन्।
सोमबार साँझ आफ्नै सामाजिक सञ्जालमार्फत प्रचण्डले लोडसेडिङको चरम संकट रहेको समयमा आफू नेतृत्वको सरकारले ऊर्जा विज्ञका रूपमा कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको नेतृत्व सुम्पिएको स्मरण गराएका छन्।
‘उनको विज्ञता, क्षमता र हाम्रो नेतृत्वको संयुक्त प्रयासबाट उज्यालो नेपाल निर्माण गर्न सफल भएका थियौँ भन्ने कुरा सम्पूर्ण जनतालाई थाहा छ,’ उनले भने, ‘तर, जनताको पैसा उठाउनुपर्छ भनेको कारण देखाउँदै लामो समयदेखि उनलाई पदबाट हटाउने प्रयास हुँदै आएको थियो। पटक–पटक अनावश्यक स्पष्टीकरण माग्दै अन्याय गरियो, र अन्ततः मन्त्रिपरिषद्को बैठकबाट उनलाई बर्खास्त गरिएको खबर सञ्चारमाध्यममार्फत प्राप्त भएको छ। आशा गरौँ, यो खबर असत्य होस्।’
उनले यदि खबर सत्य सावित भएमा सरकारको यो निर्णय पूर्ण रूपमा गलत र आपत्तिजनक हुने टिप्पणी गरे। साथै, २/३ बहुमतको दम्भमा गरिएको यस्तो कदम लोकतान्त्रिक मूल्य–मान्यताविरुद्ध भएको भन्दै घोर निन्दा प्रकट गरे।
प्रकाशित मिति: १० चैत्र २०८१, सोमबार
प्रतिक्रिया